Naya marga

एमसीसीलाई संसद्‍मा निर्णयार्थ प्रस्तुत गर्न माग गरिरहेका छौं : प्रधानमन्त्री

सेयर गर्नुहोस्

१ वैशाख,काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरेपनि रोकिएको बताएका छन् ।

नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसीलाई संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा असन्तुष्टि पोखेका हुन् । सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको उनको भनाइ थियो ।

‘एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौं र त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन, गर्नैपर्ने हुन्छ तर संविधान नमान्ने जिद्दि गर्ने त्यो प्रवृत्ति हामी झेलिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओली पछिल्लो समय एमसीसी पारित हुनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । प्रतिनिधिसभा विघटन गर्ने २०७७ पुस ५ को निर्णय सर्वोच्चले असंवैधानिक भनी खारेज गरेपछि बसेको प्रतिनिधिसभाको कुनै पनि बैठकमा उनी उपस्थित भएका छैनन् । तर संसद्मा हुने गतिविधि र त्यहाँ हुनुपर्ने बिजनेसबारे भने उनले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटा र संसद्को बहसबारे ओलीले सार्वजनिक मञ्चबाट चर्को आलोचना गर्दै आएका छन् ।

राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले अध्यादेशहरू प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भनेर असन्तुष्टि जनाए । एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कार र हत्या गर्नेविरुद्धका अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको भन्दै उनले संसद् र सभामुखप्रति असन्तुष्टि पोखेका हुन् । ‘एसिड आक्रमणका विरुद्ध अध्यादेश जरुरी बन्यो । एसिड आक्रमणविरुद्धको कडा कानुन ल्यायौं । बलात्कार र बलात्कारपछिका हत्याका विरुद्ध कडा कानुन ल्यायौं । अचम्म, मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएन । संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नपर्ने अध्यादेश नदिएर अप्रिय र असोभनीय स्थितिको निर्माण भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारले कसैसँग फाटो नचाहेको बताएका छन् । उनले राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको पनि बताएका थिए । ‘हामी चाहन्छौं फाटोको खेती होइन, आपसमा वैमन्शयता र घृणा होइन आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो,’ उनले भने ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments