Naya marga

कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, तस्करको मृत्यु

सेयर गर्नुहोस्

कञ्चनपुर बेलौरी नगरपालिका–७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाहीस्वरुप गोली चलाएको हो । प्रहरीको टोली  सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाएको र ‘जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २६ वर्षीय गोबिन्दा सिंह रहेको प्रहरी प्रवक्ता थापाले जनाए । बाँकी तस्कर भने फारार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना घाइते भएको उनले बताए ।  ‘हाम्रो प्रहरीको पनि एकजनाको खुट्टामा चोट लागेको छ, ‘उनले भने, ‘घटनाबारे थप बुझ्न आफैँ घटनास्थल जाँदै छु ।’

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागुऔषध ल्याउन लागेको सूचना पाएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। प्रहरीले घटना स्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको छ ।

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments