Naya marga

संकट ओली एंड इट्स कम्पनी सिस्टममा कि सोसाइटीमा ?

सेयर गर्नुहोस्

जनताको बलिदान र अपेक्षालाई षडयन्त्रपूर्ण ढंगले धोका दिएर दलाल पुँजीवादी व्यवस्थालाई ‘मोडिफाई’ गरेर पुरानै इन्जिन राखेर चलाउन खोजियो । २०७२ सालको कथित समाजवाद उन्मुख संविधानले देशमा राजनीतिक स्थिरता, समृद्धि र विकासको नारालाई हामीले ‘गँजडी गफ’ भन्दै आएका थियौँ । पुरानै विचार भएका, गणतन्त्र र संघीयताको विरोधमा सम्पूर्ण जवानी खर्चेका ओली र शेरबहादुरजस्ता इतिहासले ‘टेस्टेड’ गरेर फालेका नेतृत्व दलाल पुँजीवादको बुई चढेर सत्तारुढ भए ।

जनतालाई ठग्नको निम्ति सयौँ वर्षदेखिको राजतन्त्र गयो । तर, आवधिक राजतन्त्रीय प्रणाली सत्तारुढ भयो । प्रतिगामी र जनविरोधी सत्ता यथावत् राखियो र कारिन्दाहरु मात्र बदलिए । त्यो पनि इतिहासले घिसार्दै–घिसार्दै ल्याइएका थोत्राहरु ।

थोत्रो विचार, दुर्गन्धित नेतृत्व, विदेशीको तलब खाने (दो तनखेवाला) कर्मचारीतन्त्र र अपराध उत्पादन गर्ने कारखानाजस्तो सुरक्षा निकाय, दलाल अर्थशास्त्री र उद्यमी, व्यापारी भएको दलाल पुँजीवादी व्यवस्थाले राजनीतिक विकास सम्भव थिएन ।

प्रचण्डसँग अन्तरसंघर्ष चल्दै गर्दा नै हामीले कांग्रेस, एमाले, नागरिक समाज, सुरक्षाकर्मीको नेतृत्व र सार्वजनिक मञ्चसमेतमा यो बहस उठाएका थियौँ । चितवनको सहिद स्मृति कलेजमा अध्ययन गर्दा मैले सञ्जय थापा (प्रदीप नेपाल) को कथा ‘कठमुल्लावाद’ (सायद) अध्ययन गरेको थिएँ । पश्चिमी देशहरुमा नै सतीदेवीको लास बोकेर विक्षिप्त बनेको, संकट गहिरिएर छटपटीमा परेको पश्चिमा शैली र सारतत्वको पुँजीवाद (नेपालको सन्दर्भमा दलाल पुँजीवाद) लाई रंगीन जामा भिराएर ल्याइयो ।

कुनैबेला स्टालिनको अपनवायुलाई पारिजात फूलको वास्ना ठान्ने कम्युनिस्टहरु थिए । आज युरोप र अमेरिकी बुद्धिजीवीको बौद्धिक बाँनिया गिरीलाई लोकतन्त्र ठान्ने कठमुल्लावादीहरु राजनीतिक संकटको कोकोहोलो मच्चाइरहेका छन् । बन्दुक धेरै जम्मा गरेपनि, सदनमा जतिसुकै मारुनी नृत्यांगन गरे पनि ‘पेड जर्नालिज्म’ जति मौलाए पनि मलामीपछि लागेपछि पुग्ने मसानघाट हो । तिनीहरु पुग्ने आर्यघाट, देवघाट, शंखमुलघाट हो घरमा पुगिन्न । पटक पटक संकट दोहोरिने दोषारोपण चाहिँ व्यक्तिलाई मात्र थोपर्ने ?

कांग्रेसको जन्म नै बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र हो । यसले जन्मकालदेखि नै प्रगतिशील र उदार शक्तिहरुसँग दुश्मनी मोल्ने, दिल्ली र देशका पश्चगामी शक्तिसँग नरम नीति अख्तियार गर्‍यो । २०४६ सालमा बामपन्थीको सहारा लिएर मात्रै उसको मूल नारा बहुदलीय संसदीय व्यवस्थाको पुनर्स्थापना हुन सम्भव भयो । २०४६ सालको जनआन्दोलन र त्यसको सफलताले कांग्रेसको संयुक्त मोर्चासम्बन्धी नीति नै गलत रहेको पुष्टि गर्‍यो ।

पुष्पलालको पथमा आउन कांग्रेस बाध्य भयो । जसले गर्दा कांग्रेसको वैचारिक हार सुरु भयो । बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र (टु पिल्लर सिस्टम) कांग्रेसको मातृ विचार हो । पुँजीवाद र सामन्तवाद बीचमा एकता गरेर जाने र कम्युनिस्ट विरोधी सत्ता चलाउने उसको नीति हो । कांग्रेस र राजाको बीचको अन्तरविरोध भनेको दलाल पुँजीवादको नेतृत्व कसले गर्ने भन्ने हो ।

यी दुईवटाको बीचमा एकता निरपेक्ष र संघर्ष सापेक्ष हुने गर्दछ । त्यसैले कांग्रेस र राजा वा राजावादीबीच एकताको सम्भावना सधैँ रहन्छ । र, त्यो अनौठो मान्नुपर्ने विषय पनि होइन । तर ज्ञानेन्द्रको ‘कू’ पछि कांग्रेस आफ्नो आदर्शबाट च्युत भयो र गणतन्त्रमा गयो । कांग्रेस गणतन्त्रको निम्ति गठित प्रशिक्षीत पार्टी होइन । यो राजालाई विष्णु भगवान ठान्ने, टिका थाप्न जाने, ढोगभेट गर्ने, आदर्श ठान्ने जमात हो । गणतन्त्र त कम्युनिस्टहरुको नारा हो । गणतन्त्रमा गएर कांग्रेसले आफ्नो राजनीतिक औचित्य नै समाप्त गरिसकेको छ । राजनीतिक कार्यक्रममा पछाडि परेपछि त्यो पार्टीको संगठन, नैतिक धरातल र एकता कमजोर हुनु अनिवार्य हुन्छ । त्यही कुरा राम्ररी बुझेका कृष्णप्रसाद भट्टराईले ‘कांग्रेसको अस्तित्व समाप्त भएको’ भन्दै पार्टीको साधारण सदस्यसमेत परित्याग गरेका थिए । हुँदा हुँदा त कांग्रेस ‘समाजवाद उन्मुख संविधान’ (भलै शब्दजाल नै किन नहोस्) सम्म भन्न तयार भयो । वीपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादले कांग्रेस गठन गणतन्त्रको लागि गरेका थिए ?

भ्रष्टाचारमा चुर्लुम्म डुबेको लाभको पद बाँडफाँडको लागि बालुवाटारको ढोकामा शिव शर्मा ब्राह्मण झैँ र्‍याल चुहाएर ढुकिरहेको, साँढेको …. झर्ला र खाउँला भनेर ढुकिरहेको, वैचारिक राजनीतिक औचित्यहीन कांग्रेसलाई वरिष्ठ पत्रकार धर्मेन्द्र झाले ‘जुंगा उखेलिएको कमजोर र रुग्ण बाघ’ भनेका छन् । चिन्तन, राजनीति, विरासत, नैतिक आधार र इतिहास (२०४६–२०७७) कतैबाट हेर्दा पनि कांग्रेसको आगमन ‘मिति गुज्रेको औषधि’ भएको छ । त्यसैले कांग्रेस राजनीतिक संकटको समाधान होइन ।

पूर्व पञ्चहरु र राजावादीहरु पुरातनपन्थी, पश्चगामी, सामन्ती धारा हो । अठारौँ शताब्दीको पूवार्धमा फ्रान्सका राजा लुईं सोह्रौँलाई मृत्युदण्ड दिएपछि राजतन्त्र र सामन्ती युगको अन्त्य सुरु भएको हो । विश्वभरि कि साँस्कृतिक राजतन्त्र कायम छ कि त विनासको घडी पर्खेर बसिरहेको छ । नेपालको राजतन्त्र पछिल्लो पतन हो भने ठूलो चर्चा गर्ने गरिएको थाइल्यान्डको राजतन्त्रको अवस्थाले पाठेघरभित्रैबाट राजा बनेर आउने असभ्य युग आज सम्भव छैन । सत्तारुढ दलको असक्षमता र जनताको कमजोर चेतनालाई भजाएर आउन खोज्ने शक्तिले समस्याको समाधान गर्न सक्दैन । अग्रगामी विचार र राजनीतिक कार्यक्रम नयाँ चाहिन्छ ।

औपचारिक कथनमा समाजवाद, वर्ग, मजदुर, किसान, न्याय, समानताको कुरा गर्ने व्यवहारमा र सारतत्वमा पुँजीवाद लागु गर्ने धारालाई भी. आई. लेनिनले ‘सामाजिक फाँसीवाद’ भनेका थिए । एमाले त्यही धारा (सामाजिक दलाल, पुँजीवादी) थियो । प्रचण्डसमेत २०६४ सालपछि त्यही धारामा पतन भए । प्रचण्ड र ओलीको बीचमा वैचारिक, राजनीतिक भिन्नता हटेको थियो । त्यसअर्थमा अलग अलग पार्टी आवश्यक थिएन ।

केपी ओलीलाई बालुवाटार गुम्ने त्रास थियो भने प्रचण्डलाई देउवासँगको गठबन्धन निरर्थक भएपछि ओलीसँग सहारा माग्नु बाध्यता थियो । माधव नेपाललाई ओली अराजकताले हैरान पारेकै थियो । अमेरिकालाई एमसीसी पारित गरेर नेपालमा रणनीतिक अखडाको जग हाल्नु थियो । जसमा भारत र युरोपको पनि रणनीतिक स्वार्थ थियो । ओली त गणतन्त्रका कट्टर विरोधी थिए भनिरहन परोइन । जनयुद्धले जन्माएको शब्द र ‘टाक्कटुक्क’ कार्यशैलीबाट प्रचण्डको राजनीति चल्ने अवस्था छैन । त्यसकारण सामाजिक दलाल पुँजीवाद समाधान होइन ।

कांग्रेस नेता विमलेन्द्र निधिले ओली सरकारलाई ‘बदनाम भट्टी पसल’ भनेका छन् । तर कांग्रेसको भट्टी पसल सबैले देखेकै होइन र ? कांग्रेस नेता गगन थापा राजतन्त्रलाई ‘मुर्ति चोरेर र बेचेर खाने’ भन्छन् भने कतिपय नेतालाई राजतन्त्र नभई भएको छैन । शशांक कोइराला भने मोदीपथमा हिँड्दैछन् । अब पशुपतिनाथको शरण परेर (हिन्दु धर्मको वैशाखी टेकेर) कांग्रेस बौराउने सपना देख्दैछन् । विचार र राजनीतिमै गाइजात्रे कांग्रेस कसरी विकल्प होला ?

विश्व राजनीति नै संकटबाट गुज्रेको छ । युरोपियन युनियन विघटन भएको छ । त्यहाँ अन्धराष्ट्रवाद हावी हुँदैछ । अमेरिका विश्वमा नै सर्वाधिक आर्थिक संकटबाट गुज्रेको छ । त्यसले ट्रम्पजस्ता हुल्लडबाज र अन्धराष्ट्रवादीलाई प्रयोग गर्‍यो । तर, झनै रसातलतिर धकेल्यो । जहाँ युरोपबाट गएका गोरा आप्रवासी, अमेरिकाका आदिवासी र अन्य महादेशबाट पुगेका आप्रवासीबीचमा ध्रुविकरण बढिरहेको छ । अमेरिकामा उदाएको नश्लवाद आर्थिक संकटकै कचेरा (सह–उत्पादन) हो । यी सबै घटनाहरु वैश्विक व्यवस्थाकै वैचारिक संकटहरु हुन् ।

विश्वका सबै विचार, राजनीति र आदर्शप्रति प्रश्न उठिरहेको छ । चलचित्रमा जस्तो एउटा नायक हुने अवस्था छैन । सोभियत संघ र संयुक्त राज्य अमेरिका दुई ध्रुव होइन अनेक शक्तिकेन्द्रहरु बन्दैछन् । अलजजिराले ठूला शक्तिकेन्द्रको सातो खाएको छ । उत्तरकोरियाले अमेरिकाको हुर्मत लिएको छ । चीन, जापान, भारत, जर्मनी, इरान अनेक शक्तिकेन्द्रहरु बन्दैछन् ।

एउटा चिप्समा संसार साँघुरिएको छ । जलवायु संकटको कारण वैज्ञानिक हकिंग्सले युवा वैज्ञानिकलाई एकसय वर्षभित्र अर्को ‘गुडखोज’ भनेर भयानक संकटको संकेत गरेर गए । तर दार्शनिक र राजनीतिक क्षेत्रले त्यसको निकास दिन सकेको छैन । दर्शनले राजनीतिलाई र राजनीतिले समाजलाई नेतृत्व दिनुपर्थ्यो । त्यसको विकल्प पनि छैन । तर, राजनीति आज पनि डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी हुँदै नेपालमा हुल्लडबाजहरुको हातमा छ ।

पुँजीवादको संकट चुलिएको छ । पुँजीवादलाई अन्तिम सत्य भन्ने फुकुयामाहरु निराश भएका छन् । स्टालिन लेनिनको समाजवादले फाँसिवादको अन्त्य, राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्‍यो । पुँजीवादको लुटतन्त्र कमजोर बनाउने र नयाँ नयाँ शक्तिकेन्द्र हुर्कन पाउने भौतिक वातावरण बनायो । तर आज त्यत्तिले पुग्नेवाला देखिन्न । वैचारिक राजनीतिक संकट त सबैलाई बोध भएको छ । तर समाधान के भन्ने प्रश्नमा एकरुपता छैन । आज हामीलाई अर्को माक्र्स, अर्को सुकरात चाहिएको छ । वैज्ञानिक हकिंग्सले ‘विज्ञान र दर्शनलाई जोड’ भनेका थिए ।

विश्व एकीकृत भयो, दर्शन र चेतनामा अर्थात चिन्तन र भौतिक कर्मलाई ‘युनिफाइड गर’ भनेका थिए । तर हामी झन् झन् विभाजित भएर गइरहेका छौँ । नेपाल विश्वका संकट र आन्तरिक संकट दुवैको दबाबमा परेको छ । राजनीतिक संकटको समाधान बौद्धिक जाति, उमेर, नश्लले गर्ने होइन दर्शन र राजनीतिले गर्ने हो । त्यसरी सोच्ने फुर्सद, रुची, धैर्यता छ कि छैन ? तर त्यसको विकल्प पनि छैन ।

मजदुर, किसान र मध्यम वर्गको एकता र राजकीय अर्थतन्त्रको स्थान समुदाय नियन्त्रित अर्थतन्त्र आजको आवश्यकता देखिन्छ । त्यसप्रकारको सत्ता नाफा कुम्ल्याउने होडमा कृष्ण विवर (ब्ल्याक होल) मा प्वाल पार्दै जाने चरित्रको होइन प्रकृतिमैत्री हुनेछ । सिंह जंगलको राजा त हो तर जंगलमा आगो झोसेर सिंहको पनि रक्षा हुँदैन । मान्छे प्रकृतिकै उपज र सदस्य भएकाले प्रकृतिसँग शत्रुता कायम गरियो भने मान्छे पनि डढेलो लागेको जंगलको बाघजस्तै असुरक्षित हुन्छ । कोरोना जिवाणु महामारीले त्यो पाठ सिकाएकै छ । त्यसकारण वैज्ञानिक समाजवाद वर्तमान राजनीतिक संकटको विकल्प हुनसक्छ । समाजवाद र लोककल्याणकारी व्यवस्था भएका भनिएका देशहरुले महामारीसँग लड्न सापेक्षिक सफलता पाउनुले त्यसलाई पुष्टि गरेका छन् । मिति गुज्रेको औषधी सिफारिस गरेर दलाल पुँजीवाद नामक रोग अझै बढाउने देशलाई ‘तावाबाट हामफालेर भुंग्रोमा’ भनेझैँ संकटतिर धकेल्ने षडयन्त्र नगरौँ । नयाँ विकल्पमा बहस गरौँ ।श्रोत:अनलाइनखबर

(लेखक :अनिल शर्मा)

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments