Naya marga

साझा मुद्दामा मिलेर अगाडि बढाै: प्रधानमन्त्री देउवा

सेयर गर्नुहोस्

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको संरक्षण र कार्यान्वयनका लागि साझा उद्देश्य बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सबैको साझा उद्देश्य भएको बताउनुभएको हो ।

प्रतिनिधिसभाको आइतबार बसेका बैठकमा विश्वासको मत माग्दै उहाँले मुलुकका सामु रहेका चुनौतीलाई सबैको साझा प्रयत्नबाट मात्रै सम्बोधन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । देशका सामु केही साझा चुनौती, उद्देश्य र गन्तव्य रहेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले सहकार्य र सहयात्रालाई अगाडि बढाउन आफू तयार रहेको बताउनुभयो ।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान, कोभिड–१९ हाम्रा साझा विषय हुन्, सबै मिलेर अगाडि बढ्नुपर्छ ।’ –उहाँले भन्नुभयो । प्रधानमन्त्रीले भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्दै पटक–पटकको प्रतिनिधिसभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको स्थिति रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता भएकोमा जोड दिनुभयो । केपी ओली नेतृत्वको सरकारले विगत साढे तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिँदै उहाँले विगतमा भएका राम्रा कामलाई निरन्तरता दिँदै कमी–कमजोरी सुधार गर्दै महत्वपूर्ण नयाँ काम गर्ने बताउनुभयो ।‘हामी राजनीतिक दलहरू एक–अर्काका शत्रु होइनौं बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौं भन्ने भावनाका साथ काम गर्नुपर्दछ ।’ –प्रधानमन्त्री देउवाले भन्नुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments