भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरु एक होऊँ !

 

वैज्ञानिक समाजवादको घोषणापत्र

१. वर्तमान युगको सिंहावलोकन

आज विश्वमा कम्युनिष्ट आन्दोलनमा गतिरोध आएको छ, पुराना समाजवादी सत्ताहरु ढलेका छन् र विद्यमान कम्युष्टि पार्टीहरु र धाराहरु किंकर्तव्यविमूढ (अनिर्णयको बन्दी) भएका छन् । सन् १८४८ बाट आरम्भ भएको विश्व कम्युनिष्ट आन्दोलनको एउटा चरण (चक्र) पूरा भएको छ । तर वैज्ञानिक समाजवाद–साम्यवाद स्थापना गर्ने कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा भएको छैन । त्यसकारण यो लक्ष्य पूरा गर्नको लागि अब कम्युनिष्ट आन्दोलनको नयाँ चरण आरम्भ गर्नु आवश्यक भएको छ ।

औपचारिक रुपले कम्युनिष्ट आन्दोलन सन् १८४८ बाट शुरु भएको थियो र त्यसको सैद्धान्तिक आधार माक्र्सवाद थियो । माक्र्सवादले नै कम्युनिष्ट आन्दोलनको लक्ष्य, विधि, क्रान्तिकारी शक्ति र वर्ग– सवै कुराहरुलाई वैज्ञानिक ढंगबाट सुनिश्चित गरेको थियो । यसले कम्युनिष्ट आन्दोलनको लक्ष्यको रुपमा वैज्ञानिक समाजवाद–साम्यवाद, यो लक्ष्य प्राप्त गर्ने विधिको रुपमा वर्ग–संघर्ष र समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी शक्तिको रुपमा सर्वहारा वर्गलाई मानेको थियो । यसरी मार्क्सवादले स्वतःस्पूmर्त रुपमा चलेको कम्युनिष्ट आन्दोलनलाई वैज्ञानिक ढंगबाट मार्गदर्शन गरेको थियो ।

माक्र्सवादको सुस्पष्ट मार्गदर्शनमा पहिलो समाजवादी क्रान्ति सन् १९१७ मा रुसमा सम्पन्न भयो । त्यसले कम्युनिष्ट आन्दोलनलाई व्यावहारिक रुपमा सही छ भन्ने सिद्ध गरिदियो । अब कम्युनिष्ट आन्दोलन सिद्धान्त र व्यवहार दुवैमा सही सिद्ध भयो । परिणामस्वरुप यो विश्वभरि फैलियो ।

तर १९५० पछि विश्व कम्युनिष्ट आन्दोलनमा समस्या देखिनथाल्यो र विस्तारै यो कमजोर हुनथाल्यो । अन्ततः सन् १९९१ म पहिलो समाजवादी सत्ताको रुपमा स्थापित सोभियत संघ विघटन भयो । त्यसको प्रभाव विश्वभरि पर्यो र त्यो अद्यावधि कायम रहेको छ ।
यसरी सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा सही सिद्ध भएको कम्युनिष्ट आन्दोलनमा गतिरोध आउनुको कारण के हो ? यसको एउटा वस्तुगत कारण छ । त्यो कारणको सम्बन्धमा गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । तब मात्र विश्व कम्युनिष्ट आन्दोलनमा आएको वर्तमान गतिरोधलाई चिरेर अगाडि बढ्न सम्भव हुन्छ ।

माक्र्सवादको मूल कुरा इतिहासको भौतिकवादी धारणा हो । यो धारणाअनुसार समाजको आधार भौतिक तत्व हो, मानसिक तत्व (विचार) होइन । यसले माक्र्सवादलाई अन्य सम्पूर्ण दर्शनहरुबाट अलग गर्दछ । माक्र्सवादको उत्कृष्टता र वैज्ञानिकता पनि यसमै अतर्निहित छ ।

समाजको आधार मानिएको भौतिक तत्वको अर्थ उत्पादक शक्ति हो । उत्पादक शक्ति भनेको त्यो तत्व वा स्रोत हो, जसबाट मानिसको आवश्यकता पूरा हुने वस्तु प्राप्त हुन्छ । उदाहरणको लागि जमिन एउटा उत्पादक शक्ति हो, जहाँबाट मानिसको लागि आवश्यक खाद्यान्न प्राप्त हुन्छ अथवा उत्पादन हुन्छ । त्यसैगरी कपडा बुन्ने यन्त्र एउटा उत्पादक शक्ति हो, जसबाट मानिसको लागि आवश्यक कपडा प्राप्त हुन्छ ।

उत्पादक शक्तिको आधारमा उत्पादन सम्बन्ध बन्दछ र त्यसको आधारमा सम्पूर्ण सामाजिक व्यवस्था बन्दछ । त्यसकारण उत्पादक शक्तिको स्वरुपले समाजको स्वरुपलाई निर्धारण गर्दछ । उत्पादक शक्तिको अनुरुप सामाजिक व्यवस्था बन्दछ । त्यसैगरी उत्पादक शक्ति बदलिएपछि सामाजिक व्यवस्था पनि बदलिन्छ । वास्तवमा उत्पादक शक्तिको विकासक्रम नै मानव समाजको विकासक्रम हो ।

मानव समाजको विकास क्रममा विभिन्न उत्पादक शक्तिहरुको आधारमा विभिन्न सामाजिक व्यवस्थाहरु बनेका छन् । माक्र्सवादले अहिलेसम्म ६ वटा सामाजिक व्यवस्थाहरुको निर्धारण वा पहिचान गरेको छ । तिनीहरु हुन्– आदिम साम्यवाद, दासव्यवस्था, सामन्तवाद, पूँजीवाद, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद । तिनीहरुमध्ये चारवटा (आदिम साम्यवाद, दासव्यवस्था, सामन्तवाद र पूँजीवाद) आइसकेका छन् र बाँकी दुईवटा (वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद) निकट भविष्यमा आउँदै छन् ।

यी सामाजिक व्यवस्थाहरुमध्ये प्रत्येकको आफ्नो अलग उत्पादक शक्ति छ । आदिम साम्यवादको उत्पादक शक्ति प्रकृति थियो । दासव्यवस्थाको उत्पादक शक्ति मानव श्रम थियो । सामन्तवादको उत्पादक शक्ति जमिन थियो । पूँजीवादको उत्पादक शक्ति पूँजी हो । र, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको उत्पादक शक्ति विगतमा माक्र्सवादले सामूहिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष निकालेको थियो ।

उत्पादक शक्तिको स्वरुपअनुसार सामाजिक व्यवस्थाको स्वरुप बन्दछ । आदिम साम्यवादको उत्पादक शक्ति प्रकृति थियो, त्यसकारण त्यसको स्वरुप पनि प्रकृतिको अनुरुप थियो । प्रकृतिको अगाडि सवै मानिसहरु समान थिए र उनीहरु प्रकृतिमाथि निर्भर थिए । समाज निर्वर्गीय थियो । त्यसवेला शोषण–उत्पीडन थिएन । समाजमा स्वतन्त्रता, समानता र भातृत्वको राज थियो ।
त्यसपछि दासव्यवस्था आयो । त्यसको उत्पादक शक्ति मानव श्रम थियो, जुन आदिम साम्यवादको उत्पादक शक्ति प्रकृतिलाई विस्थापन गरेर आएको थियो । जब मानव श्रम उत्पादक शक्ति बन्यो, अथवा जब मानव श्रमबाट मानिसको आवश्यकता पूरा गर्ने वस्तु प्राप्त हुनथाल्यो, तब मानिसले आफ्नो आवश्यकता पूरा गर्नको लागि श्रम गर्नुपर्ने भयो । तर एउटै मानिसले सवै प्रकारका श्रमहरु गर्न सम्भव थिएन । त्यसकारण मानिसहरुको बीचमा श्रम–विभाजन हुनथाल्यो । त्यही श्रम–विभाजनबाट वर्गहरुको उदय भयो र समाज विभिन्न वर्गहरुमा विभाजित भयो । यसरी निर्वर्गीय समाज वर्गीय समाजमा बदलियो । दासव्यवस्था पहिलो वर्गीय समाज थियो ।

तेस्रो सामाजिक व्यवस्थाको रुपमा आएको सामन्तवादको उत्पादक शक्ति जमिन थियो । जमिनले सामन्तवादको स्वरुपलाई निर्धारण गरेको थियो । सामन्तवादमा समाज जातिहरुमा विभाजित भयो, वर्गहरु जातिमा रुपान्तरित (परिणत) भए, राजकीय पदहरु वंशानुगत अधिकार बने र व्यवसायहरु वा पेशाहरु जातीय पहिचान वा विशेषता बने । त्यसको कारण थियो– उत्पादक शक्तिको रुपमा रहेको जमिनको प्राकृतिक, स्थायी र अपरिवर्तनशील स्वरुप ।

सामन्तवादपछि चौथो व्यवस्थाको रुपमा आएको पूँजीवादको उत्पादक शक्ति पूँजी हो । यसका प्रमुख विशेषताहरु हुन्– गतिशीलता, सार्विकता र अमूर्तता । पूँजीकै अनुरुप पूँजीवादी व्यवस्था बनेको छ । त्यसकारण यो गतिशील छ । यसमा हरेक कुरा अस्थायी हुन्छ । पूँजी सार्विक भएको हुँदा यसले हरेक वस्तुको मूल्यको प्रतिनिधित्व गर्दछ । फलस्वरुप पूँजीको अगाडि सवै वस्तुहरु समान हुन्छन् । समाजको विभाजन अन्तिम सीमामा पुग्दछ, अर्थात् समाजको विभाजन व्यक्तिहरुमा हुन्छ । जाति, वंश र लिङ्गजस्ता प्राकृतिक तत्वहरुको सट्टा व्यक्ति प्रमुख बन्दछ, किनभने व्यक्ति पूँजीको समरुप हुन्छ । वैयक्तिक स्वतन्त्रता, एकनिष्ठ विवाह, प्रतिनिधिमूलक राजनीतिक प्रणाली र निजी स्वामित्व– यी सवै पूँजीको अनुरुप बनेका संरचनाहरु हुन् ।

पूँजीवादमा उत्पादन उपभोगको लागि नभएर विनिमयको लागि हुन्छ । त्यसकारण यसमा बृहत सामाजिक श्रम–विभाजन हुन्छ । पूँजीवादी उत्पादनको लक्ष्य पूँजीको प्राप्ति र संचय हो । पूँजीको स्वरुप सार्विक भएको हुँदा यसद्वारा सवै वस्तुहरु प्राप्त गर्नसकिन्छ । त्यसैकारण उत्पादनको कुनै एउटा क्षेत्रमा मात्र लाग्न सम्भव हुन्छ र श्रम–विभाजनको प्रवृत्ति तीव्र गतिले अगाडि बढ्दछ ।

पूँजीवादपछि आउने सामाजिक व्यवस्थाहरु वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको उत्पादक शक्ति सामूहिक वा सामाजिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष माक्र्सवादको थियो । वैज्ञानिक समाजवादमा सामाजिक मानव श्रम निम्नस्तरको हुन्छ र वैज्ञानिक साम्यवादमा त्यो उच्चस्तरको हुन्छ । पहिलोमा श्रमनीति ‘योग्यताअनुसार काम र कामअनुसार दाम’ हुन्छ र दोस्रोमा त्यो ‘योग्यताअनुसार काम र आवश्यकताअनुसार दाम’ हुन्छ । निम्नस्तरको सामाजिक श्रममा शारीरिक श्रम र मानसिक श्रमको भेद तथा गाउँ र शहरको भेद अथवा विभिन्न प्रकारका श्रमहरुको भेद मेटिएको हुँदैन, त्यसकारण वैज्ञानिक समाजवादमा श्रम–विभाजन हुन्छ । उच्चस्तरको सामाजिक श्रममा श्रमका सवै भेदहरु मेटिएका हुन्छन्, त्यसकारण वैज्ञानिक साम्यवादमा श्रम–विभाजन हुँदैन । एउटै व्यक्तिले बिहान एउटा काम, दिउँसो अर्को काम र साँझ अर्को काम गर्नसक्छ ।

श्रम सामूहिक अथवा सामाजिक हुने हुँदा वैज्ञानिक समाजवाद र साम्यवादमा समाज वर्गहरुमा विभाजन हुँदैन । फलस्वरुप वर्गविहीन समाजको स्थापना हुन्छ ।

माक्र्सवादले वैज्ञानिक समाजवाद र साम्यवादमा उत्पादक शक्ति सामूहिक वा सामाजिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष उन्नाइसौं शताब्दीको मध्येमा (सन् १८४८ मा) निकालेको थियो । त्यसको आधारमा विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्यो । सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिहरु भए र समाजवादी सामाजिक व्यवस्थाहरु स्थापित भए । यसरी उन्नाइसौं शताब्दीको मध्यपछि करिब एकसय वर्ष समाजवादी क्रान्तिको अवधि बन्यो ।

तर सन् १९४५ पछि एउटा महान घटना घट्यो । त्यो घटना थियो– वैज्ञानिक–प्राविधिक क्रान्ति । त्यो क्रान्तिले विज्ञान¬–प्रविधिलाई प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरण ग¥यो । त्यसले यो कार्य अलग–अलग रहेका विज्ञान र प्रविधिलाई संयोजन गरेर सम्पन्न गरेको थियो । पहिले विज्ञान र प्रविधि अलग–अलग थिए । त्यसकारण तिनीहरु उत्पादक शक्तिको रुपमा रहेको मानव–श्रमको सहायक मात्र थिए । वैज्ञानिक–प्राविधिक क्रान्तिको परिणामस्वरुप जब तिनीहरुको संयोजन भयो, तब तिनीहरु प्रत्यक्ष उत्पादक शक्ति बने र मानव–श्रम उत्पादक क्षेत्रबाट विस्थापित भयो । कारण विज्ञान–प्रविधिको क्षमता मानव–श्रमको भन्दा धेरै गुणा बढी थियो ।

विज्ञान–प्रविधि उत्पादक शक्ति बनेपछि त्यसबाट सम्पूर्ण सामाजिक संरचनामा आमूल परिवर्तन भयो । त्यसको प्रभाव पुँजीवाद र समाजवाद दुवैमा प¥यो । पुँजीवादले आफूलाई परिमार्जन गरेर बचायो, तर समाजवादले त्यसो गर्न सकेन । फलस्वरुप समाजवाद पछि प¥यो र संकटग्रस्त भयो ।

यसरी परिवर्तित वर्तमान विश्व परिवेशलाई निम्नानुसार तीन शीर्षकहरुमा उल्लेख गर्न सकिन्छ– १) उत्पादक शक्तिमा परिवर्तन, २) वर्ग–संघर्षको नयाँ विधिको आवश्यकता र ३) समाजवादको नयाँ प्रारुपको आवश्यकता ।

१) उत्पादक शक्तिमा परिवर्तन

विगतमा माक्र्सवादले समाजवाद र साम्यवादको उत्पादक शक्तिको रुपमा सामूहिक वा सामाजिक मानव श्रमलाई मानेको थियो । सामाजिक मानव श्रमले पूँजीवादको उत्पादक शक्तिको रुपमा रहेको पूँजीलाई विस्थापित गर्नसक्दथ्यो र त्यससँगै पुँजीवादी व्यवस्थाको अन्त्य हुन्थ्यो । तर अहिले सामाजिक मानव श्रमको स्थान विज्ञान–प्रविधिले लिएको छ । त्यसकारण अब सामाजिक मानव श्रमले पूँजीलाई विस्थापित गर्नसक्दैन । यसलाई विस्थापित गर्ने काम नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिले मात्र गर्नसक्दछ । पूँजीवादलाई अन्त्य गरेर त्यसको स्थानमा सामाजवादलाई स्थापित गर्नको लागि विज्ञान–प्रविधि निर्णायक शक्ति भएको छ ।

सामाजिक मानव श्रम उत्पादक शक्ति भएको समाजमा श्रमिक वर्गलाई क्रान्तिकारी शक्ति मानिएको थियो । तर विज्ञान–प्रविधि उत्पादक शक्ति भएको वर्तमान समयमा विज्ञान–प्रविधिलाई प्रयोग गर्ने वर्ग नै क्रान्तिकारी शक्ति हुन्छ । विगतमा माक्र्सवादले श्रमिक वर्गलाई क्रान्तिकारी शक्ति मानेको थियो । त्यसवेला सामाजिक श्रम उत्पादक शक्ति थियो ।

२) वर्ग–संघर्षको नयाँ विधिको आवश्यकता

माक्र्सवादले अतिरिक्त मूल्यको सिद्धान्तको रहस्य उद्घाटन गरेको थियो । अतिरक्त मूल्यको सिद्धान्तअनुसार पूँजीवादी उत्पादनको लक्ष्य अतिरिक्त मूल्यको प्राप्ति हो र अतिरिक्त मूल्यको स्रोत अशोधित श्रमको (मूल्य नतिरिएको श्रमको) अधिकरण हो । पूँजीपति वर्गले अतिरिक्त मूल्यको रुपमा श्रमिक वर्गलाई शोषण गर्दछ र आफ्नो सम्पत्ति संचय गर्दछ । यसरी अब पूँजीपति वर्गको सम्पन्नता र श्रमिक वर्गको विपन्नता दुवैको रहस्य स्पष्ट भयो ।

पुँजीपति वर्ग र श्रमिक वर्गको बीचमा संघर्ष अतिरिक्त मूल्यलाई लिएर हुन्थ्यो । पूँजीपति वर्गले अतिरिक्त मूल्यलाई यथासम्भव बढाउन चाहन्थ्यो भने श्रमिक वर्गले त्यसलाई यथासम्भव घटाउन चाहन्थ्यो । पूँजीपति वर्गको विरुद्ध सर्वहारा वर्गको संघर्षको अर्थ पूँजीपति वर्गलाई अतिरिक्त मूल्य शोषण गर्नबाट रोक्नु थियो । अतिरिक्त मूल्यको शोषण नै पूँजीपति वर्ग र पूँजीवादको आधार थियो । त्यसकारण यसको शोषणको अन्त्यसँगै पूँजीवादको पनि अन्त्य हुन्थ्यो ।

तर उत्पादक शक्ति नै बदलिएपछि वर्ग–संघर्षको स्वरुप पनि परिवर्तन हुनु अनिवार्य भएको छ । अब उत्पादक शक्तिको रुपमा विज्ञान¬–प्रविधि आएको छ र मानव श्रमशक्ति विस्थापित भएको छ । त्यसकारण अतिरिक्त मूल्यको स्रोत मानव श्रमको सट्टा विज्ञान–प्रविधि भएको छ । परिणामस्वरुप अब वर्ग¬–संघर्ष अतिरिक्त मूल्यलाई लिएर हुँदैन, विज्ञान–प्रविधिको उपयोगलाई लिएर हुन्छ । वर्ग–संघर्षको लक्ष्य पूँजीवादी वर्गको एकाधिकारबाट विज्ञान–प्रविधिलाई मुक्त गरेर अधिकारविहीन वर्गको स्वामित्वमा ल्याउनु हो ।

सामन्तवादमा जमिनले पूँजीलाई आफ्नो अधीनस्थ बनाएको थियो । अहिले पूँजीले विज्ञान¬–प्रविधिलाई आफ्नो अधीनस्थ बनाएको छ । त्यसकारण अब वर्ग–संघर्षको उद्देश्य पूँजीको अधीनबाट विज्ञान¬–प्रविधिलाई मुक्त गर्नु र समाजको स्वामित्वमा ल्याउनु हो ।

३)समाजवादको नयाँ प्रारुपको आवश्यकता

इतिहासको भौतिकवादी धारणाअनुसार उत्पादक शक्तिको स्वरुपले सामाजिक व्यवस्थाको स्वरुपलाई निर्धारण गर्दछ । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध हुन्छ र उत्पादन सम्बन्धको अनुरुप सामाजिक व्यवस्था हुन्छ । त्यसकारण जब नयाँ उत्पादक शक्ति आउँछ, तब पुरानो उत्पादन सम्बन्धसँग त्यसको अन्तर्विरोध शुरु हुन्छ । फलस्वरुप नयाँ उत्पादन सम्बन्धको आवश्यकता पर्दछ ।

अहिले नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधि आएको छ । यससँग पुराना उत्पादन सम्बन्धहरु मेल खाँदैनन्, जसमा पूँजीवादी र समाजवादी दुवै उत्पादन सम्बन्धहरु पर्दछन् । त्यसकारण अब विज्ञान–प्रविधिको अनुरुप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्था आवश्यक भएको छ । यसको लागि समाजवादको नयाँ प्रारुप निर्माण गर्नु आवश्यक छ । नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिको अनुरुप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्थाको रुपमा समाजवादको नयाँ प्रारुप आउँदछ ।

यिनै तीन विषयहरुमा विचार गरिसकेपछि कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा निर्धारण गर्नसकिन्छ । अब कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा निर्माण गर्दा मूलतः तीनवटा विषयहरुमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । तिनीहरु हुन्– १) नयाँ उत्पादक शक्तिको उपयोग, २) वर्ग–संघर्षको नयाँ विधिको प्रयोग र ३) समाजवादको नयाँ प्रारुपको निर्माण ।

१. नयाँ उत्पादक शक्तिको उपयोग

वर्तमान युगको नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण पुरानो सामाजिक व्यवस्थालाई अन्त्य गरेर नयाँ सामाजिक व्यवस्थाको स्थापना गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्नु आवश्यक छ । यसले पूँजीवादको उत्पादक शक्तिको रुपमा रहेको पूँजीलाई विस्थापित गर्दछ । परिणामस्वरुप पूँजीमा आधारित सामाजिक व्यवस्था पूँजीवादको अन्त्य हुन्छ र त्यसको स्थानमा विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवाद र साम्यवादको स्थापना हुन्छ ।

अब विज्ञान–प्रविधिको उपयोग गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु आवश्यक छ । जुन साधनद्वारा पूँजीवाद शक्तिशाली भएको छ, त्यही साधनद्वारा मात्र त्यसलाई कमजोर बनाउन र पराजित गर्नसकिन्छ । पूँजीवाद अहिले विज्ञान–प्रविधिको उपयोगबाट शक्तिशाली बनेको छ । त्यसकारण विज्ञान–प्रविधिको प्रयोगद्वारा नै यसलाई कमजोर बनाउन र अन्ततः परास्त गर्न सम्भव हुन्छ ।

त्यसैगरी समाजवाद र साम्यवादको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । कारण यसबाट निजी स्वामित्वको अन्त्य गर्न सम्भव हुन्छ । पूँजीवादीहरुले विज्ञान–प्रविधिको उपयोग पूँजीवादको विकास र सुदृढीकरण गर्नको लागि गरिरहेका छन् । समाजवादीहरुले यसको उपयोग समाजवादको विकास र सुदृढीकरण गर्नको लागि गर्नुपर्दछ ।

पूँजी प्रमुख उत्पादक शक्ति भएको समयमा पूँजीपति वर्ग क्रान्तिकारी शक्ति हुन्थ्यो । त्यसैगरी सामाजिक श्रम उत्पादक शक्ति भएको समयमा श्रमिक वर्ग क्रान्तिकारी शक्ति हुन्थ्यो । अब विज्ञान–प्रविधि उत्पादक शक्ति भएको समयमा यसलाई उपयोग गर्ने वर्ग नै क्रान्तिकारी शक्ति हुन्छ । यही क्रान्तिकारी वर्गले पूँजीवादलाई ध्वस्त पारेर समाजवादको निर्माण गर्दछ ।
त्यसकारण अब उत्पादन क्षेत्रबाट विस्थापित श्रमिक वर्ग र विज्ञान–प्रविधिको संयोजनबाट निर्णायक क्रान्तिकारी शक्तिको निर्माण हुन्छ ।

२.वर्ग–संघर्षको नयाँ विधिको प्रयोग

विगतमा जुन वेला मानव श्रम उत्पादक शक्ति थियो, सर्वहारा वर्ग (श्रमिक वर्ग) उत्पादन क्षत्रमा हुन्थ्यो । त्यसवेला सर्वहारा वर्गले पूँजीवादी व्यवस्थाभित्रै रहेर त्यसको विरुद्ध संघर्ष गर्नसक्दथ्यो । तर अहिले मानव श्रम उत्पादक शक्ति नरहेपछि त्यो उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । त्यसकारण सर्वहारा वर्गले पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन । विगतमा सर्वहारा वर्गको काम हुन्थ्यो तर दाम हुँदैनथ्यो । त्यसकारण कामअनुसार दामको लागि संघर्ष गरिन्थ्यो । अहिले त्यसको काम पनि छैन र दाम पनि छैन । काम नभएको सर्वहारा वर्गले दामको लागि संघर्ष गर्न सम्भव भएन । अर्को शब्दमा, अहिले सर्वहारा वर्ग उत्पादन क्षेत्रबाट विस्थापित भएको हँुदा त्यसले पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन ।
त्यसकारण अब पूँजीवादी व्यवस्थाभन्दा बाहिर समानान्तरमा समाजवादी व्यवस्थाको निर्माण गरेर मात्र त्यसको विरुद्ध संघर्ष गर्नसकिन्छ । अब वर्ग–संघर्षको विधि पूँजीवादको विरुद्ध समानान्तरमा समाजवादको निर्माण हो । यही विधिको प्रयोग गरेर निर्णायक वर्ग–संघर्ष गर्नसकिन्छ ।

३.समाजवादको नयाँ प्रारुपको निर्माण

वर्तमान पूँजीवादी व्यवस्थाबाट उत्पन्न संकटबाट मुक्त हुन समाजवादबिना संभव छैन । तर त्यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ समाजवाद हो । यो नयाँ समाजवाद ‘वैज्ञानिक समाजवाद’ हो । भूमण्डलीकृत भयानक पूँजीवादबाट आक्रान्त जनता समाजवादको लागि बलिदान गर्न तयार हुन्छन्, तर विगतको जस्तो समाजवादको लागि होइन । यदि जनतालाई समाजवादको लागि उत्प्रेरित गर्ने हो भने, त्यसको उपयुक्त स्वरुप, जुन विगतको भन्दा भिन्न हुन्छ, प्रस्तुत गर्नु आवश्यक छ ।

वैज्ञानिक समाजवादको विशेषता

वैज्ञानिक समाजवादका विशेषताहरु यसप्रकार हुनेछन्– १) विज्ञान–प्रविधिमा आधारित समाजवाद, २) सामाजिक नियन्त्रणमा आधारित समाजवाद र ३) सामाजिक स्वामित्वमा आधारित समाजवाद ।

१) विज्ञान–प्रविधिमा आधारित समाजवाद

हरेक सामाजिक व्यवस्थाको स्वरुपको आधार उत्पादक शक्तिको स्वरुप हो । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध (सामाजिक व्यवस्था) हुनुपर्दछ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ । उत्पादक शक्तिको रुपमा विज्ञान¬–प्रविधिको विकास वर्तमान युगको प्रमुख घटना हो । यसले समाजवादको आधारलाई बदलिदिएको छ र नयाँ आधारमा समाजवादलाई अझ निकट तथा संभव बनाइदिएको छ । समाजवादको पुरानो आधार मावनश्रम थियो । यसको नयाँ आधार विज्ञान–प्रविधि हो, जुन मानवश्रमको तुलनामा धेरै क्षमतावान छ । फलस्वरुप अब समाजवाद अतिनिकट भएको छ ।

दोस्रो कुरा, समाजवादमा जीवनको लागि आवश्यक साधनहरुको जुन प्रचुरताको अपेक्षा गरिएको छ, त्यो विज्ञान–प्रविधिबाट मात्र संभव छ । आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त्य हुने संभावना देखिएको छ । समाजवादको प्रमुख शर्त मानवीय आवश्यकता पूरा गर्ने साधनहरुको प्रचुरता हो । आज विज्ञान–प्रविधिको असीमित तथा विशाल क्षमताबाट यो शर्त पूरा भएको छ । विगतमा मानवश्रमबाट यो असंभव थियो । फलस्वरुप विगतमा समाजवाद साकार हुनसकेन । अब मानिसको लागि आवश्यक पर्ने गाँस, बास र कपासको अतिरिक्त अन्य धेरै वस्तुहरु तथा साधनहरुको प्रचुरता संभव छ ।

१) सामाजिक नियन्त्रणमा आधारित समाजवाद

समाजवाद सामाजिक नियन्त्रणमा आधारित हुन्छ, राज्यको नियन्त्रणमा होइन । राज्यको नियन्त्रण त ती सामाजिक व्यवस्थाहरुमा हुन्छ, जसमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन हुन्छ । अल्पसंख्यकले राज्ययन्त्रको बलमा बहुसंख्यकमाथि नियन्त्रण गर्दछ । तर समाजवादमा सामाजिक नियन्त्रण हुन्छ । सामाजिक नियन्त्रण समाजका संघटकहरुको (सोभियतहरुको) सन्तुलनमा आधारित हुन्छ । र, सन्तुलन तिनीहरुका सम्बन्ध र अन्तर्निर्भरतामा आधारित हुन्छ । समाजका संघटकहरु सामाजिक समूहहरु हुन्; उदाहरणको लागि कृषक समूह, मजदूर समूह, वैज्ञानिक समूह, शिक्षक समूह, इन्जिनियर समूह, आदि । यी समूहहरुमा शक्तिको विभाजन तथा हस्तान्तरण गर्नुपर्दछ ।

३) सामाजिक स्वामित्वमा आधारित समाजवाद

समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित गर्नु हो । अथवा यसको लक्ष्य उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गर्नु हो । तर यो लक्ष्य उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेर पूरा हुनसक्दैन, जुन विगतको अनुभवबाट स्पष्ट हुन्छ । त्यसैगरी यो लक्ष्य उत्पादनका साधनहरुमाथि सम्पूर्ण समाजको स्वामित्व घोषणा गरेर पनि पूरा हुनसक्दैन, किनभने त्यो अमूर्त हुन्छ । यसको लागि सर्वप्रथम समाजका समूहहरुको स्वामित्व स्थापित गर्नुपर्दछ । यसको विधि राष्ट्रियकरण गरेर उत्पादनका साधनहरुलाई राज्यको स्वामित्वमा ल्याउनु होइन, समाजका समुदायहरुको स्वामित्वमा ल्याउनु हो । समाजका विभिन्न समूहहरु, संघटकहरु उत्पादन प्रक्रियाका अंगहरु हुन् । तिनीहरुको स्वामित्वमा सम्पूर्ण उत्पादन साधनहरु र सम्पदा ल्याउनु आवश्यक छ ।

समाजका संघटकहरुको रुपमा विभिन्न समूहहरु हुन्छन् । ती समूहहरुले समाजका अलग–अलग कार्यहरु सम्पन्न गर्दछन् र अलग–अलग भूमिकाहरु निर्वाह गर्दछन् । समाजीकरणको प्रक्रिया ती समूहहरुलाई तिनीहरुको आफ्नो क्षेत्रको स्वामित्व प्रदान गरेर सम्पन्न गर्नसकिन्छ । उदाहरणको लागि, किसानहरुको समूहहरुलाई कृषिको स्वामित्व, मजदूरहरुको समूहहरुलाई उद्योगको स्वामित्व प्रदान गरेर कृषि तथा उद्योगको समाजीकरण गर्नसकिन्छ । कारण कृषिको वास्तविक स्वामी किसानहरु र उद्योगका वास्तविक स्वामी मजदूरहरु हुन्छन् । समाजको प्रत्येक क्षेत्र त्यसमा संलग्न मानिसहरुको समूहलाई सुम्पिनु वास्तविक स्वामित्व स्थापनाको वास्तविक प्रक्रिया वा विधि हो । तर समाजवादको लागि वास्तविक स्वामित्व स्थापना मात्र पर्याप्त हुँदैन । यो त्यसको एउटा पक्ष मात्र हो । त्यसको अर्को पक्ष समाजीकरण हो । समाजीकरणको लागि हरेक उद्यमलाई समाजको एउटा अंग बनाउनु पर्दछ । यसरी हरेक उद्यम सम्पूर्ण सामाजिक व्यवस्थाको एउटा अंगमा परिणत भएपछि त्यसको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यसले समाजमाथि शासन गर्न पाउँदैन । कारण त्यसलाई अन्य अंगहरुले (उद्यमहरुले) नियन्त्रण गर्दछन् ।

 वैज्ञानिक समाजवादको संरचना

हरेक समाजका निश्चित संघटक प्रणालीहरु हुन्छन् । तिनीहरु हुन्– (१) आर्थिक प्रणाली, (२) सामाजिक प्रणाली, (३) राजनीतिक प्रणाली र (४) विचारधारा । यिनीहरुको समष्टिबाट समाजको संरचना बन्दछ । वैज्ञानिक समाजवादको संरचना निम्नानुसार हुनेछ–

१) आर्थिक प्रणाली

आर्थिक प्रणालीका दुई पक्षहरु (भागहरु) हुन्छन्– उत्पादक शक्ति र उत्पादन सम्बन्ध । उत्पादक शक्तिको अर्थ मानवीय आवश्यकता पूरा गर्नको लागि आवश्यक पर्ने वस्तु प्राप्त हुने स्रोत वा वस्तु हो । उत्पादन सम्बन्धको अर्थ उत्पादक शक्तिलाई उपयोग गरेर मानवीय आवश्यकता पूरा गर्ने वस्तु उत्पादन गर्नको लागि निर्माण हुने मानिसहरुको सम्बन्ध वा संगठन हो । यसमा उत्पादन, विनिमय, वितरण र उपभोग तथा तिनीहरुको अन्तर्सम्बन्ध पर्दछ । यिनीहरुको समष्टिबाट उत्पादन सम्बन्ध बन्दछ ।
वर्तमान युगमा विज्ञान–प्रविधि प्रमुख उत्पादक शक्ति बनेको छ । त्यसकारण वैज्ञानिक समाजवादको उत्पादक शक्ति विज्ञान–प्रविधि हुन्छ । र, यसको उत्पादन सम्बन्ध विज्ञान–प्रविधिमा आधारित हुन्छ । विज्ञान–प्रविधिलाई उपयोग गरेर मानवीय आवश्यकता पूरा गर्नको लागि बन्ने संगठन नै वैज्ञानिक समाजवादको उत्पादन सम्बन्ध हुन्छ ।

वैज्ञानिक समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि निजी स्वामित्व र राज्यको स्वामित्व दुवैको अन्त्य गरी सामाजिक स्वामित्व स्थापित गर्नु हो । सामाजिक स्वामित्व स्थापित गर्ने आधार उत्पादनका साधनको सामूहिक उपयोग र उपभोग हो । यसलाई क्रियात्मक स्वामित्व (भााभअतष्खभ यधलभचकजष्उ) भनिन्छ । कुनै पनि उत्पादनको साधनको उपयोग र उपभोग समाजको जुन समूहले गर्दछ, त्यसको स्वामित्व त्यही समूहको हुन्छ । त्यसकारण सामाजिक स्वामित्वको प्रतिनिधित्व सामुदायिक स्वामित्वले गर्दछ । सामाजिक स्वामित्वलाई स्थापित गर्ने विधि सामुदायिक स्वामित्व स्थापित गर्नु हो ।

यसमा विभिन्न समुदायहरु वा समूहहरु आर्थिक एकाई तथा अर्थतन्त्रको संचालक हुन्छन् र सम्पत्तिको सम्पूर्ण अधिकार समुदायमा हुन्छ ।

त्यसैगरी वैज्ञानिक समाजवादको अर्को महत्वपूर्ण लक्ष्य वर्तमान युगको प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधिमाथि पूँजीपति वर्गको स्वामित्वलाई अन्त्य गरी त्यसको स्थानमा सामाजिक स्वामित्व स्थापित गर्नु हो । परिणामस्वरुप विज्ञान–प्रविधिको उपलब्धि सवैको पहुँचमा हुन्छ ।

२) सामाजिक प्रणाली

मानवीय आवश्यकता पूरा गर्ने वस्तहरुको उत्पादन प्रक्रियाको क्रममा मानिसहरुको बीचमा निश्चित सम्बन्ध बन्दछ । यस्तो सम्बन्धबाट मानव समूहहरु बन्दछन्, जसलाई वर्ग भनिन्छ । यसरी उत्पादन प्रक्रियाको आधारमा बन्ने सामाजिक समूहहरु नै समाजका वास्तविक संघटक  हुन् । यिनीहरुको समुचित व्यवस्था  नै सामाजिक प्रणाली हो ।

वर्गहरुको निर्माण उत्पादन प्रक्रियामा तिनीहरुको भूमिकाको आधारमा हुन्छ । त्यसकारण वर्गहरुको आधार उत्पादन प्रक्रियामा हुने भूमिका हो । यसबाट वितरण प्रणाली स्थापित हुन्छ ।

वर्गहरुको निर्धारण उत्पादक शक्तिको स्वरुपले गर्दछ । उदाहरणको लागि, दासव्यवस्थामा दास र दासमालिक थिए, सामन्तवादमा सामन्त र किसान थिए र पूँजीवादमा पूँजीपति र सर्वहारा छन् । हरेक सामाजिक व्यवस्थाको आफ्नो अलग उत्पादक शक्ति हुन्छ, जसबाट निश्चित प्रकारका वर्गहरु बन्दछन् ।

वर्ग–संघर्षको सुरुवात भएपछि राज्यसत्ताको उत्पत्ति भयो, जसले संघर्षरत वर्गहरुलाई नियन्त्रण गर्दथ्यो । परिणामस्वरुप समाजमा राज्यको सर्वोच्चता स्थापित भयो ।

विगतमा राज्यको स्थान सर्र्वोच्च थियो । अन्य सवै संगठनहरु राज्यद्वारा नियन्त्रित थिए र राज्यको अधीनस्थ थिए । तर जब विभिन्न सामाजिक समूहहरुको संख्या र महत्व बढ्दै गयो, तब राज्यको भूमिका कम हुँदै गयो । अब राज्यको काम आधारभूत सामाजिक समूहहरुको संयोजन र समन्वय हो ।

वैज्ञानिक समाजवादको उद्देश्य राज्यको नियन्त्रणलाई अन्त्य गरी समाजको नियन्त्रण स्थापित गर्नु हो । त्यसकारण यसको नियन्त्रण प्रणाली समतलीय हुन्छ । विगतको उध्र्वगामी नियन्त्रण प्रणालीलाई समतलीय प्रणालीद्वारा प्रतिस्थापित गर्नुपर्दछ । राज्यको नियन्त्रण प्रणाली उध्र्वगामी हुन्छ तर समाजको नियन्त्रण प्रणाली समतलीय हुन्छ । विगतमा पूँजीवादी व्यवस्था र समाजवादी व्यवस्था दुवै राज्यको उध्र्वगामी नियन्त्रण प्रणालीमा आधारित थिए । वर्तमान युगमा सामाजिक व्यवस्थाको निर्माण राज्यको उध्र्वगामी नियन्त्रण प्रणालीबाट होइन, समाजको समतलीय नियन्त्रणबाट बन्दछ ।

विगतमा सामाजिक समूहहरुको सम्बन्ध शासक र शासित, उत्पीडक र उत्पीडित तथा शोषक र शोषित रहेको थियो । अब समाजवादमा तिनीहरुको सम्बन्ध समानता र अन्तर्निर्भताको हुन्छ ।

३) राजनीतिक प्रणाली

वैज्ञानिक समाजवादमा राजनीतिक प्रणाली प्रत्यक्ष सहभागितामूलक जनवाद  हुन्छ । प्राचीन ग्रीसमा स्वतन्त्र नागरिकहरुले सर्वप्रथम जनवादको अभ्यास गरेका थिए । त्यो जनवाद प्रत्यक्ष जनवाद  थियो । तर त्यो सीमित प्रकारको जनवाद थियो । किनभने त्यसमा दासमालिकहरु मात्र सहभागी हुन्थे, जसलाई स्वतन्त्र नागरिक मानिन्थ्यो । तर ठूलो संख्यामा रहेका दासहरुले त्यसमा भाग लिन पाउँदैनथे, जसको संख्या ८०–८५ प्रतिशत हुन्थ्यो ।

प्राचीन ग्रीसको जनवाद सीमित प्रकारको भएको हुँदा त्यो प्रत्यक्ष जनवाद हुन सम्भव भएको थियो । त्यसमा सवै मानिसहरु एक ठाउँमा भेला हुन्थे र सवै निर्णयहरु प्रत्यक्ष सहभागी भएर गर्दथे । त्यहाँ कोही कसैको प्रतिनिधि हुँदैनथ्यो ।

प्राचीन ग्रीसको त्यो प्रत्यक्ष जनवाद प्राचीन ग्रिक सभ्यताको अन्त्यसँगै समाप्त भयो र मध्यकालको अन्धकारमा बिलायो । त्यसपछि करिब एकहजार वर्षसम्म सामन्तवादी शासन चल्यो ।

एकहजार वर्षको अन्धकार युगपछि युरोपमा पुनर्जागरण आयो । प्राचीन ग्रिक सभ्यता तथा रोमन सभ्यताको आलोकमा, जुन विस्मृतिको ओझेलमा परेका थिए, नयाँ युगको आरम्भ भयो । तर त्यो प्राचीन सभ्यताको उही रुपमा पुुनरावृत्ति वा पुनरुत्थान थिएन । प्राचीन कालका ज्ञान–विज्ञानहरुले नयाँ युगका मानिसहरुलाई यथार्थको बोध त गराएका थिए, तर तिनीहरु नयाँ सभ्यताको आरम्भ गर्न भने पर्याप्त थिएनन् । त्यसकारण तिनीहरुको पुनःसंरचना गरियो ।

त्यही कुरा राजनीतिक क्षेत्रमा पनि भयो । परम्परागत सामन्ती सत्ताको स्थानमा जनवादलाई स्थापित गरियो । तर त्यो जनवाद प्राचीन ग्रीसको जस्तो प्रत्यक्ष सहभागितामूलक जनवाद थिएन, प्रतिनिधिमूलक जनवाद थियो । त्यसलाई सामाजिक संझौताको परिकल्पनाद्वारा वैधता दिइयो । सामाजिक संझौताको सिद्धान्तअनुसार शासन गर्ने अधिकार जनतासँग हुन्छ, तर उनीहरुले त्यसलाई एउटा संझौताद्वारा आफ्ना प्रतिनिधिहरुको हातमा सुम्पिन्छन् । त्यसकारण राजनीतिक सत्ता जनताद्वारा निर्मित हुन्छ । यो कुनै अलौकिक दैवी शक्तिद्वारा सृजित, शाश्वत तथा अपरिवर्तनीय कुरा होइन । यो सिद्धान्तका प्रवत्र्तकहरु थिए– आधुनिक युगका प्रसिद्ध दार्शनिकहरु टमस हब्स, जोन लक र जीन ज्याक्स रुसो ।

दार्शनिकहरुद्वारा परिकल्पित सामाजिक संझौताको सिद्धान्त यथार्थ घटना थिएन । किनभने कुनै पनि सामाजिक व्यवस्था मानिसहरुको इच्छाले स्थापित हुँदैन । यो त वर्ग–संघर्ष र त्यसको अभिव्यक्तिको रुपमा राजनीतिक शक्तिहरुको संघर्षद्वारा स्थापित हुन्छ । तर त्यसले एउटा सत्यलाई चाहिँ अभिव्यक्त गर्दथ्यो । त्यो के थियो भने राज्यसत्ता मानवीय कृति हो, कुनै ईश्वरीय वरदान होइन ।

यसरी प्राचीन कालको प्रत्यक्ष जनवादको स्थानमा प्रतिनिधिमूलक जनवाद आउनुका दुई कारणहरु थिए । पहिलो, जनसंख्याको वृद्धि तथा मानिसहरुको स्वतन्त्र गतिविधिको परिणामस्वरुप समाज विविधतापूर्ण, जटिल र वृहत बनेको थियो । त्यसकारण अब सबै मानिसहरु एक ठाउँमा भेला भएर प्रत्यक्ष रुपमा निर्णय गर्न सम्भव थिएन । त्यसको लागि केही निश्चित प्रतिनिधिहरु छनौट गर्नु आवश्यक भयो । त्यसै गरियो र त्यसबाट प्रतिनिधिमूलक जनवादको आरम्भ भयो । दोस्रो, आधुनिक कालको आगमनसँगै पूँजीवादको आरम्भ भएको थियो र प्रतिनिधिमूलक जनवाद पूँजीवादको लागि उपयुक्त थियो । पूँजीवादमा जसरी पूँजी सम्पूर्ण बस्तुहरु (अयmयमष्तष्भक) को प्रतिनिधि हुन्छ, त्यसैगरी नेताहरु सम्पूर्ण जनताका प्रतिनिधि हुन्छन् । त्यसकारण यो पूर्ण जनवाद होइन । यो त पूँजीपति वर्गको शासन हो, जसले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने दावी गर्दछ ।

पूँजीवादी व्यवस्थाका तीन प्रमुख विशेषताहरु छन्– १) श्रम–विभाजन, २) प्रतिस्पर्धा र ३) योग्यतमको शासन ।
पूँजीवादमा पूर्णस्तरमा श्रम–विभाजन हुन्छ । किनभने यसमा सवै काम एउटैले गर्न सम्भव हँुदैन । उत्पादकत्व तथा क्षमताको वृद्धिको लागि श्रम तथा त्यसको विषयको विशिष्टीकरण गर्नुपर्दछ । परिणामस्वरुप राजनीतिमा पनि विशिष्टीकरण हुन्छ । यो केही पेशेवार तथा प्रशिक्षित राजनीतिज्ञहरुको विषय बन्दछ ।

त्यसैगरी पूँजीवादमा विभिन्न पक्षहरुको बीचमा प्रतिस्पर्धा हुन्छ । परिणामस्वरुप योग्यतमको छनौट गर्नुपर्ने अवस्था आउँदछ । यसरी योग्यतमको शासन स्थापित हुन्छ ।

यिनै कारणहरु थिए, जसबाट पूँजीवादमा प्रतिनिधिमूलक जनवाद स्थापित भएको थियो । तर पनि यो अन्तिम र निर्विकल्प व्यवस्था होइन । जसरी विनिमय प्रक्रिया विविधतापूर्ण, जटिल र वृहत भएपछि बस्तु–विनिमयको स्थानमा मुद्रा–विनिमय आएको थियो, त्यसैगरी मानव समाज विविधतापूर्ण, जटिल र वृहत भएपछि प्रत्यक्ष जनवादको स्थानमा प्रतिनिधिमूलक जनवाद आएको थियो । त्यसकारण यसको अन्त्य र विकल्प अपरिहार्य छ ।

जब पूँजीवादको विकास चरम अवस्थामा पुग्दछ, तब यो एउटा अन्तर्विरोधमा फस्दछ । त्यसपछि प्रतिनिधिमूलक जनवादमा पनि विसंगति उत्पन्न हुन्छ, जुन पूँजीवादको जनवाद हो । अहिले यही भएको छ । प्रतिनिधिमूलक जनवाद औपचारिक र नाममात्रको जनवाद बनेको छ । जनप्रतिनिधिहरु व्यापारीजस्ता भएका छन् । उनीहरुले जनताको प्रतिनिधित्व गर्दैनन्, नाफा कमाउँछन् । त्यसकारण अब प्रतिनिधिमूलक जनवादको अन्त्यको घन्टी बज्नथालेको छ ।

यो प्रतिनिधिमूलक जनवादको स्थान अब प्रत्यक्ष सहभागितामूलक जनवादले लिन्छ । प्रत्यक्ष सहभागितामूलक जनवाद समाजवादको जनवाद हो । समाजवादमा श्रम–विभाजन, प्रतिस्पर्धा र योग्यतमले शासन गर्ने कुराको अन्त्य भइसकेको हुन्छ । त्यसकारण अब प्रतिनिधिमूलक व्यवस्थाको आवश्यकता पर्दैन । त्यसको स्थानमा प्रत्यक्ष सहभागितामूलक जनवाद स्थापित हुन्छ ।

समाजवादमा पुनः प्रत्यक्ष सहभागितामूलक जनवाद स्थापित हुन्छ । तर यो प्राचीन दासव्यवस्थाको जनवादको पुनरावृत्ति होइन । किनभने त्यो सीमित प्रकारको जनवाद थियो । त्यसले बहुसंख्यक दासहरुलाई समेट्दैनथ्यो । अब समाजवादको प्रत्यक्ष जनवादले बहुसंख्यक जनतालाई समेट्दछ । यसमा समताले मात्र होइन, विविधताले पनि स्थान पाउँदछ । यसमा पूँजीवादको सम्पूर्ण विकास समाहित हुन्छ । त्यसकरण यो प्रत्यक्ष जनवादको उच्चतम विकास हो । साथसाथै यो प्रतिनिधिमूलक जनवादको निषेध पनि हो ।

प्रत्यक्ष सहभागितामूलक जनवादमा दुई प्रकारका निकायहरु हुन्छन्– (१) स्वनिर्मित (सार्वभौम) निकाय र (२) निर्वाचित निकाय ।
१) स्वनिर्मित (सार्वभौम) निकाय– यो सामाजिक (सार्वमौम) समूह हो, जुन समाजको एकाई अथवा संघटक हुन्छ । यो समूहमा आबद्ध सम्पूर्ण मानिसहरु यसका अनिवार्य सदस्य हुन्छन् । यस्ता धेरै समूहहरु मिलेर एउटा समाजको निर्माण हुन्छ । यो कार्यकारी निकाय हो । यसले विधायिका र कार्यपालिका दुवैको काम गर्दछ । सम्पूर्ण राजकीय शक्ति र अधिकार यसमा रहन्छ र त्यसको प्रयोग पनि यो स्वयंले गर्दछ । त्यसकारण समाजको हरेक व्यक्ति राजकीय कार्यमा सहभागी हुन्छ । जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आपैंmले गर्दछन् ।

विगतमा यस्ता स्वनिर्मित सामाजिक समूहहरुलाई फ्रान्समा कम्युन र रुसमा सोभियत भनिन्थ्यो । सोभियतहरु तीन प्रकारका थिए– मजदूर सोभियत, किसान सोभियत र सैनिक सोभियत । सोभियतहरु नै नयाँ सत्ताका (समाजवादका) भ्रूणहरु हुन्, त्यसकारण तिनीहरुको हातमा सम्पूर्ण अधिकार सुम्पिनु पर्दछ भन्ने भी. आई. लेनिनको मान्यता थियो । सोभियतहरु नै वास्तविक सत्ताका हकदार हुन् भन्ने आधारमा लेनिनले संविधान सभालाई पनि विघटन गरेका थिए ।

२) निर्वाचित निकाय– यो प्रतिधिमूलक निकाय हो । यसको निर्माण स्वनिर्मित सामाजिक समूहहरुका प्रतिनिधिहरुबाट हुन्छ । यस्तो निकायको कार्य सामाजिक समूहहरुको संयोजन तथा समन्वय गर्नु हो । त्यसकारण यो कार्यकारी निकाय होइन । प्रत्यक्ष सहभागितामूलक जनवादमा यो निकाय अधिकारविहीन हुन्छ । यसको कार्य अलग–अलग रहेका विभिन्न सामाजिक समूहहरुलाई संयोजन र समन्वय गरेर एकताबद्ध बनाउनु हो र तिनीहरुलाई मार्गदर्शन गर्नु हो । यसबाहेक बाँकी सम्पूर्ण कार्यकारी अधिकार स्वायत्त तथा स्वतन्त्र जनसमूहहरुमा निहित हुन्छ ।

समाजवादको लक्ष्य वर्गहरुको अन्त्य र सँगसँगै वर्गीय समाजको आवश्यकताले उत्पन्न राज्यसत्ताको पनि अन्त्य हो । तर यसलाई एकैपटक उन्मूलन गर्न सकिँदैन । यो स्वयं ओइलाएर लोप हुन्छ । अर्थात् यसको भूमिका क्रमशः घट्दै जान्छ र अन्त्यमा यो औचित्यहीन बन्दछ ।

यसकोे लागि सर्वप्रथम प्रत्यक्ष सहभागितामूलक जनवाद लागू गर्नुपर्दछ । यो जनवादले राज्यसत्ताको अन्त्य गर्दछ । यसका दुई विधिहरु छन्– (१) शक्ति विकेन्द्रीकरण र (२) राजकीय कार्यको सरलीकरण ।

यसको राम्रो उदाहरण पेरिस कम्युनले प्रस्तुत गरेको थियो । पेरिस कम्युनले निर्वाचित प्रतिनिधिमूलक निकायलाई नियन्त्रण गर्नको लागि दुई विधिहरु अपनाएको थियो । तिनीहरुमध्ये एउटा शक्ति विकेन्द्रीकरण अथवा अधिकारको कटौती थियो र अर्को राजकीय कार्यको सरलीकरण थियो । त्यहाँको नगर परिषदको सदस्यको तलब एउटा मजदूरको तलबसँग बराबर थियो । त्यसैगरी राजकीय कार्य अब कुनै रहस्यमय, कुनै विशेष प्रशिक्षित व्यक्तिले मात्र गर्नसक्ने विषय थिएन । त्यसकारण उच्च पदको लागि कसैले पनि खिचातानी गर्दैनथ्यो र राज्यको कार्य हरेक व्यक्तिले गर्नसक्दथ्यो । फलस्वरुप राज्य ओइलाएर जाने अवस्थामा पुगेको थियो ।

यसरी प्रत्यक्ष सहभागितामूलक जनवादको माध्यमबाट समाजनियन्त्रित समाजवाद स्थापित हुन्छ । यस्तो समाजवादमा सम्पूर्ण अधिकार जनताको हातमा आउँदछ ।

मानव समाजको आरम्भमा जनताको सार्वभौमसत्ता जनतासँगै थियो । तर समाज विकासको क्रममा वर्गहरुको उदय भएपछि जनताको सार्वभौमसत्ता जनताबाट अलग्गियो । त्यो एउटा निश्चित शासक वर्गको हातमा गयो । त्यसो हुनु वर्गीय समाजमा अनिवार्य छ । अब समाजवादमा जनताको सार्वभौमसत्ता पुनः जनताको हातमा आउँदछ ।

समाजमा वर्गहरुको अस्तित्वको कारण उत्पादक शक्तिको विकासको निम्नस्तर हो । समाजमा वर्गहरु रहेसम्म राजनीतिक कार्य एउटा वर्गको जिम्मामा आउँदछ । जब उत्पादक शक्तिको विकास उच्चस्तरमा पुग्दछ, तब राज्यसत्ता र त्यससँग सम्बन्धित वर्गको पनि अन्त्य हुन्छ, अथवा शासक वर्गको पनि अन्त्य हुन्छ ।

४) विचारधारा

नयाँ समाजवादको विचारधारा वैज्ञानिक दर्शन हो, जुन द्वन्द्वात्मक भौतिकवादको विकसित चरण हो । यसको स्वरुप विज्ञानको वर्तमान विकासस्तरद्वारा निर्धारित भएको छ । त्यसकारण नयाँ समाजवà¤