बागबजारको गल्लिभित्र बसेर बीसौं वर्षदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका रमेश सुनुवार अहिले “वैज्ञानिक समाजवाद निर्माण अभियान” काे संयोजक हुनुहुन्छ । उहाँले असाधारण धैर्यता, लगनशीलता र निरन्तर अध्ययनबाट वैज्ञानिक समाजवादी क्रान्तिबारे नयाँ अवधारणा अगाडि सार्नुभएको छ । उहाँका दुई पुस्तक ‘माक्र्सवादको सिर्जनात्मक विकासमा नयाँ दृष्टिकोण र समाजवादको यात्रा’ मा वैज्ञानिक समाजवादी क्रान्तिको नयाँ मोडेलबारे विस्तृत र सुस्पष्ट व्याख्या छ । उहाँ राजनीति गर्ने युवाहरुलाई दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद पढाउनुहुन्छ । उहाँकै अवधारणामा आहुति नेतृत्वको वैज्ञानिक समाजसवादी कम्युनिस्ट पार्टी निर्माणसमेत भइरसकेको छ ।

बागवजारको पद्मकन्या क्याम्पसमा २४ पौष, २०७२ का दिन नेपालमा समाजसवाद कस्तो कसरी ? नामक अन्तरक्रिया गरिएको थियो । त्यो अन्तरक्रियामा सुनुवारले नेपाली क्रान्तिको कार्यक्रम नामक राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आहुतिले कार्यपत्रमाथि खरो टिप्पणी गर्नुभएकाे थियाे । उहाँले सुनुवारको कार्यपत्रलाई माक्र्सवाद विरुद्धको विषादीका रुपमा आफूले लिएको र त्यो विषादीलाई पचाइदिने घोषाणा समेत गर्नुभएको थियो । सुनुवारले आहुतिको टिप्पणीको जवाफसहित कार्यक्रमको व्याख्या लेख्नुभयाे । नेपाली क्रान्तिको कार्यक्रम, अतिथिहरुको टिप्पणी र त्यसको व्याख्या तथा स्पष्टिकरण समेटेर ‘नेपालमा समाजसवाद कस्तो र कसरी ?’  पुस्तकका रुपमा त्यो प्रकाशित गरियो । त्यो पुस्तक प्रकाशन भएको केही वर्ष नवित्दै आहुती सुनुवारको नयाँ अवधारणामा राजनीतिक अभियान सुरु गर्न तयार हुनुभयो र माओवादी केन्द्र परित्याग गर्नुभयो । हाल उहाँले नेतृत्व गर्नुभएकाे वैज्ञानिक समाजसवादी कम्युनिस्ट पार्टी सुनुवारको अवधारणा कार्यान्वयन गर्न जोडतोडका साथ लागिरहेको छ । यहाँ त्यही ऐतिहासिक बहसको डकुमेन्ट प्रस्तुत गरिएको छ ।

नेपाली क्रान्तिको कार्यक्रम
–रमेश सुनुवार

पृष्ठभूमि

विश्वमा सर्वोच्च शिखर सगरमाथाको देश, एसियका तारा गौतम बुद्धको देश र अदम्य साहसी वीर गोरखालीको देश भनेर चिनिएको नेपालका आफ्नै विशेषताहरु छन् । भू–परिवेष्ठित देशको रुपमा विश्वका विशाल देशहरु चीन र भारतको विचमा अवस्थित हुनु यसको भू–राजनीतिक विशेषता हो । पूर्व–पश्चिम लम्बाइ र उत्तर–दक्षिणको चौडाइ आयताकारमा फैलिएको नेपालको सम्पूर्ण भू–भाग हिमाल, पहाड र तराइ तीन भागहरुमा विभाजित छ । यो भौगोलिक विशेषताको कारण शीत, शीतोष्ण र उष्ण तीनै प्रकारका हावापानी पाइन्छ । फलस्वरुप नेपालमा असंख्य वनस्पतिहरु र प्रणीहरुको अस्तित्व रहको छ । यो जैविक विविधता नेपालको अर्को महत्वपूर्ण विशेषता हो । यिनै प्राकृतिक सौन्दर्यको आधारमा यसलाई ‘एसियाको स्विट्जरल्याण्ड’ भन्ने उपमा दिइएको छ ।

प्राकृतिमा जस्तै समाजमा पनि विविधता नै नेपालको विशेषता हो । यहाँ प्राचीन कालदेखि आर्य मूलका र मंगोल मूलका मानिसहरु बस्दै आएका छन् । यहाँ सामाजिक विविधताको आधारमा नेपाललाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्ने उपमा दिइएको थियो । बहुजाति, बहुभाषा तथा बहुसंस्कृतिको संगमबाट यहाँको सामाजिक सौन्दर्य निर्मित भएको छ ।

यी भौगोलिक तथा सामाजिक विशेषताहरुको अतिरिक्त नेपालमा प्राकृतिक सम्पदाको प्रचुरता पनि पाइन्छ । जल सम्पदामा नेपाल विश्वकै दोस्रो देश हो । यसैगरी खनिज सम्पदामा पनि नेपाली भूमि धेरै सम्पन्न देखिन्छ । यहाँ औद्योगिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने फलाम, तामा, सीसा, अभ्रख, म्याग्नासाइट, सुन, चाँदी, पत्थरकोइला, प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थका खानीहरु रहेका छन् ।

प्राकृतिक सौन्दर्यको रुपमा रहेका हिमालहरुमध्ये अधिकांश नेपालमा पर्दछन् र विश्वको सार्वोच्च शिखर सगरमाथा  पनि यही छ ।
अटुट प्रवाहमान तीन ठूला नदीहरु सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीद्वारा तथा अन्य धेरै नदीहरुद्वारा सिंचित नेपालको भूमि अत्यन्तै उर्वर छ । यहाँका तीन भागहरुमध्ये हिमाल जडीबुटीको भण्डार, पहाड फलफूूलको भण्डार र तराइ अन्नको भण्डारको रुपमा प्रसिद्ध छन् । यहाँ तरकारी तथा नगदे बालीहरुको प्रचुुर संभावना छ । चीया, कफी, अलैंची, अदुवा, उखु र सुर्तीजस्ता नगदे बालीहरु प्रशस्त उत्पादन हुन्छन् ।

त्यसैगरी करिब ३००० वर्षको लामो इतिहास बोकेको नेपाली भूमिमा प्राचीन कालदेखि विश्वप्रसिद्ध महान विभूतिहरु जन्मिएका छन् । दार्शनिक राजा जनक, आदर्र्श नारी सीता र भृकुटी, शान्तिका अग्रदूत गौतम बुद्ध, महान कलाकार अरनिको, वीर योद्धा अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, महाकवि लक्ष्मीप्रसाद देवकोटा, तेञ्जिड शेर्पा, आदिको योगदानबाट नेपालको गौरब विश्वस्तरमा पुगेको छ ।

तर पनि, नेपालले आफ्ना यी विशेषताहरुबाट कुनै लाभ लिन सकेको छैन । परिणामस्वरुप आज विश्वमा नेपाल पिछडिएको छ, गरीब देशहरुको श्रेणीमा परेको छ र नेपालीहरु जीवन–निर्वाहको लागि विदेशिनु परेको छ ।

यसको कारण उपयुक्त सामाजिक तथा राजनीतिक व्यवस्थाको अभाव हो । उपयुक्त सामाजिक तथा राजनीतिक व्यवस्था भएमा नेपालले आफ्ना सम्पूर्ण विशेषताहरुबाट प्रशस्त लाभ लिनसक्दछ र आफूलाई तीव्र गतिमा अगाडि बढाउन तथा विकसित देशहरुको श्रेणीमा पु¥याउन सक्दछ ।

त्यसकारण आज नेपाललाई उपयुक्त सामाजिक तथा राजनैतिक व्यवस्थाको मात्र आवश्यकता छ । त्यसलाई जान्नु र स्थापित गर्नु सम्पूर्ण मुक्तिकामी नेपाली जनताको आजको प्रमुख कार्यभार हो ।

विषय प्रवेश

नेपाल विश्वको एउटा भाग हो र नेपाली क्रान्ति विश्वक्रान्तिको एउटा अंश हो । त्यसकारण अब नेपाली क्रान्तिको कार्यक्रम वर्तमान विश्वको परिवेश र नेपालको परिवेश दुवैलाई विचार गरेर मात्र बन्नसक्दछ । त्यसको लागि सर्वप्रथम वर्तमान विश्वको परिवेश र नेपालको परिवेशलाई अगवत गर्नु आवश्यक छ ।

१. वर्तमान विश्वको परिवेश

आज हामी एउटा नयाँ संसारमा छौ । माक्र्सवादको उदय भएको करिब १७५ वर्ष पुगिसकेको छ । यसबीचमा दुनियाँमा धेरै परिवर्तनहरु भइसकेका छन् । ती परिवर्तनहरुमध्ये प्रमुख यस प्रकार छन्– १) उत्पादक शक्तिमा परिवर्तन, २) पूँजीवादको स्वरुपमा परिवर्तन, ३) समाजवादको पुरानो प्रारुपको अन्त्य र ४) संघर्ष वा क्रान्तिका पुराना विधिहरु प्रभावहीन ।

१) उत्पादक शक्तिमा परिवर्तन

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास वर्तमान युगको सर्वाधिक महत्वपूर्ण तथा निर्णायक परिवर्तन सिद्ध भएको छ । यसले मानव समाजको आधारभूत संरचनालाई बदलेको छ । उदाहरणको लागि, मानव श्रम–शक्ति उत्पादन क्षेत्रबाट विस्थापित भएको छ, समाजको वर्गीय संरचना बदलिएको छ, अर्थात सर्वहारा वर्ग र पुँजीपति वर्गको संख्या घटेको छ र मध्यम वर्गको संख्या बढेको छ, र मानव समाज अन्तर्सम्बन्धित भएर विश्वग्रामको सृजना भएको छ । यसैगरी यसबाट मानव सभ्यतामा अभूतपूर्व विकास भएको छ, जुन मात्रात्मक, गुणात्मक तथा गत्यात्मक सबै दृष्टिबाट अद्वितीय छ ।

२) पुँजीवादको स्वरुपमा परिवर्तन

आफ्नो उदयदेखि सन १९४५ सम्म पुँजीवादले तीन चरण पार गरिसकेको थियो । ती चरणहरु थिए– (१) संरक्षणवादी पुँजीवादको चरण, जसलाई व्यापारिक पुँजीवाद भनिन्थ्यो, (२) प्रतिस्पर्धी पुँजीवादको चरण, जसलाई औद्योगिक पुँजीवाद भनिन्थ्यो, र (३) एकाधिकारी पुँजीवादको चरण, जसलाई वित्तीय पुँजीवाद भनिन्थ्यो । लेनिनले एकाधिकारी पूँजीवादलाई, जुन साम्राज्यवादको रुपमा प्रकट भएको थियो, पूँजीवादको अन्तिम चरण भनेका थिए । तर त्यसमा पुँजीवादको अन्त्य भएन । सन १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्य भएपछि पुँजीवादले नयाँ चरणमा, जुन यसको चौथो चरण हो, प्रवेश गरेको छ । यो चरणमा पुँजीवाद एकीकृत पूँजीवाद बनेको छ, जुन अहिले भूमण्डलीकृत पूँजीवादको रुपमा विश्वमा व्याप्त छ । यसको आधार विज्ञान–प्रविधि हो, त्यसकारण यसलाई वैज्ञानिक–प्राविधिक पूँजीवाद भन्नसकिन्छ । बहुराष्ट्रिय तथा पराराष्ट्रिय कम्पनी र निगमको माध्यमबाट एकीकृत पूँजीवादको आगमनपछि सम्पूर्ण पूँजीपति वर्गहरु एकाकार भएका छन् । फलस्वरुप राष्ट्रिय पूँजीपति वर्गको अस्तित्व समाप्त भएको छ । किनभने त्यसले अब भूूमण्डलीकृत पुँजीवादसँग प्रतिस्पर्धा गरेर आफ्नो अस्तित्व कायम राख्नसक्दैन । त्यसकारण ऊ त्यसैमा समाहित भएको छ । एकाधिकारी पूँजीवादको चरणमा राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवादबाट उत्पीडित हुन्थ्यो, त्यसकारण ऊ केही हदसम्म क्रान्तिकारी हुन्थ्यो । तर अब ऊ भूमण्डलीकृत पूँजीवादकै अंग भएको हुँदा क्रान्तिकारी छैन, बरु क्रान्तिविरोधी छ । अहिले सम्पूर्ण देशहरुका पूँजीपतिहरुको बहुराष्ट्रिय तथा पराराष्ट्रिय कम्पनीहरु तथा निगमहरुमा शेयर छ, जुन भूमण्डलीकृत अन्तर्राष्ट्रिय पूँजीवादका संस्थाहरु हुन् ।

३) समाजवादको पुरानो प्रारुपको अन्त्य

सन १९१७ मा सम्पन्न समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघको समाजवाद सन १९९१ मा पतन भएपछि समाजवादको एउटा प्रारुपको अन्त्य भएको छ । त्यो समाजवादको प्रारुप मानव श्रम–शक्तिमा आधारित, राज्यनियन्त्रित र राज्यको स्वामित्वमा आधारित थियो । त्यो अब अनुभवबाट असान्दर्भिक भइसकेको छ ।

४) संघर्ष र क्रान्तिका पुराना विधिहरु प्रभावहीन

त्यसैगरी सामाजिक परिवर्तनको लागि प्रयोग गरिएका विद्यमान पुराना विधिहरु पनि अहिले प्रभावहीन सिद्ध भएका छन् । ती विधिहरु हुन– (१) सशस्त्र संघर्ष, (२) जनआन्दोलन र (३) निर्वाचन ।

विगतमा एकमात्र अचूक साधनको रुपमा मानिएको सशस्त्र संघर्ष अहिले प्रभावहीन भएको छ र कही पनि यसबाट लक्ष्य प्राप्त हुनसकेको छैन । उदाहरणको लागि, भारतको नक्सलबाडी सशस्त्र संघर्ष, पेरुको साइनिङपाथको सशस्त्र संघर्ष र नेपालको माओवादी जनयुद्ध आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएनन् ।

अहिले विश्वमा जनआन्दोलन पनि सफल भएका छैनन् । उदाहरणको लागि, थाइल्याण्डमा रातोसर्टधारी आन्दोलन, नेपालमा माओवादीद्वारा आह्वान गरिएको आमहड्ताल, आदि ठूलो जनसहभागिताको बावजुद असफलतामा टुंगिए ।

त्यसैगरी निर्वाचनबाट पनि अहिले विश्वमा सामाजिक परिवर्तनको लागि सफलता प्राप्त भइरहेको छैन । युरोपेली कम्युनिष्टहरु, भारतीय कम्युनिष्टहरु र नेपाली कम्युनिष्टहरु तथा ल्याटिन अमेरिकी बामपन्थीहरुले निर्वाचनको माध्यमबाट केही अांशिक सफलता मात्र प्र्राप्त गरेका छन्, तर मूल लक्ष्य प्राप्त हुनसकेको छैन ।

यसप्रकार आज हामी उपर्युक्त विश्व–परिवेशको सामु उभिएका छौं ।

२. वर्तमान नेपालको परिवेश

नेपाली समाज २००७ सालको परिर्वतनदेखि निरन्तर क्रान्तिको प्रक्रियामा छ । तर त्यसको बावजुद यहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा आमूल परिवर्तन हुनसकेको छैन । करिब उही समयमा स्वाधीन बनेका दुई छिमेकी देशहरु चीन र भारत आज विश्वमा शक्तिशाली देशको रुपमा स्थापित भइसकेका छन् । तर नेपाल अहिलेसम्म पिछडिएको अवस्थामा रहिरहेको छ । त्यसकारण यहाँ क्रान्ति तथा प्रतिक्रान्तिको क्रम रोकिएको छैन । र, जनताको क्रान्ति जारी छ ।

नेपालको वर्तमान परिवेशलाई यसरी चित्रण गर्न सकिन्छ– १) पूँजीवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल, २) नयाँ जनवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल, ३) नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी र ४) बाह्य अवस्थामा परिवर्तन ।

१) पूँजीवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल

नेपालमा पूँजीवादी क्रान्तिको लागि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरु २००७ सालमा, २०४६ सालमा र २०६२–६३ सालमा भएका थिए । तर केही आंशिक उपलब्धिहरुको बावजुद तिनीहरु असफल भए । पहिलो प्रयत्नबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो, दोस्रो प्रयत्नबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भयो र तेस्रो प्रयत्नबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यी आंशिक सफलताहरु थिए । तर ती सबै प्रयत्नहरुबाट मूल लक्ष्य प्राप्त हुनसकेन । त्यो हो– पूँजीवादी व्यवस्थाको स्थापना र विकास ।

२) नयाँ जनवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल

नेपालमा नयाँ जनवादी क्रान्तिको लागि पनि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुमध्ये पहिलोे नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी कार्यक्रम अगाडि सारेर भएको थियो, दोस्रो नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा बहुदलीय जनवादको कार्यक्रम लगाडि सारेर भएको थियो र तेस्रो नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा जनयुद्धको कार्यक्रम अगाडि सारेर भएको थियो । तिनीहरुबाट केही आंशिक उपलब्धिहरु भए, तर मूल लक्ष्य प्राप्त भएन । त्यो हो– नयाँ जनवादी व्यवस्थाको स्थापना र विकास ।

३) नेपाली समाजाको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी

नेपाली समाजको स्वरुप अहिले पनि अर्ध–सामन्ती र अर्ध–उपनिवेशी नै छ । नेपाली समाजको आरम्भ गोत्र तथा कबिला अवस्थाबाट भएको थियो र सामन्तवादसम्म विकसित भएको थियो । तर आफ्नो विकासको क्रममा यो सामन्तवादबाट पूँजीवादमा नपुगी अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्थामा रोकिएको छ । नेपाल–अंग्रेज युद्धको परिणामस्वरुप सुगौली सन्धि भएपछि नेपालले अर्ध–सामन्ती र अर्ध–उपनिवेश अवस्थामा प्रवेश गरेको हो ।

नेपाल अर्ध–सामन्ती र अर्ध–उपनिवेशी हुनुको कारण के हो भने यहाँ उत्पादक शक्ति अहिले पनि मूलतः जमिन नै रहेको छ र निर्वाहमुखी अर्थतन्त्रको प्रधानता छ, जुन सामन्तवादको आधार हो । केही मात्रामा पूँजीको विकास त भएको छ, तर त्यो प्रमुख उत्पादक शक्ति बनिसकेको छैन । त्यसैगरी यहाँ विदेशी साम्राज्यवादी–विस्तारवादी शक्तिहरुको हस्तक्षेप कायमै छ । आयात तथा पारवान सुविधा नपाउनु यसको ज्वलन्त उदाहरण हो ।

केही मानिसहरुले नेपाली समाज अब अर्ध–सामन्ती र अर्ध–उपनिवेशी रहेन, पूँजीवादी भइसकेको छ भन्ने दावी गर्दछन् । तर उनीहरुको यो दावीमा कुनै सत्यता छैन । किनभने तिनै मानिसहरु, जसले यस्तो दावी गर्दछन्, जब सरकारमा पुग्दछन् र कुनै जनपक्षीय काम गर्न सक्दैनन्, तब जनतासामु आएर अलाप–विलाप, हार–गुहार र रोइ–कराइ गर्दछन्– “ताला–चाबी त अन्तै पो रहेछ, हाम्रो हातमा त केही पनि रहेनछ !”

४) बाह्य अवस्थामा परिर्वतन

नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी नै रहेको भएता पनि यसको बाह्य अवस्था बदलिएको छ । अन्तर्राष्ट्रिय पूँजीवाद अहिले एकीकृत पूँजीवाद अथवा भूमण्डलीकृत पूँजीवादमा रुपान्तरित भएको छ, जसमा विश्वका सम्पूर्ण पूँजीपति वर्गहरु एकाकार भएका छन् । अब राष्ट्रिय पूँजीपति वर्गको अस्तित्व समाप्त भएको छ ।

३. नेपाली क्रान्तिको कार्यक्रम

यसरी वर्तमान विश्वको परिवेश र नेपालको परिवेश दुुबैलाई विचार गरिसकेपछि नेपाली क्रान्तिको कार्यक्रमलाई यसप्रकार सूत्रबद्ध गर्नसकिन्छ ः १) नेपाली क्रान्तिको लक्ष्य समाजवादलाई बनाउने, २)उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई मान्ने, ३) संघर्ष वा क्रान्तिको विधि समाजवादको निमार्णलाई बनाउने र, ४) समाजवादको नयाँ प्रारुप प्रस्तुत गर्ने ।

१) नेपाली क्रान्तिको लक्ष्य समाजवादलाई बनाउने

नेपाली क्रान्तिको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने नेपालमा पूँजीवादी क्रान्ति हुनसक्दैन । त्यसैगरी नेपाली कम्युनिष्ट आन्दोलनको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने यहाँ नयाँ जनवादी क्रान्ति पनि हुनसक्दैन ।

नेपालको आन्तरिक पक्षको आधारमा नेपाली क्रान्तिको लक्ष्य नयाँ जनवाद नै हुन्थ्यो तर यसको बाह्य पक्षमा आएको परिवर्तनले नयाँ जनवादी क्रान्ति सम्भव छैन । कुनै पनि क्रान्तिको लागि आन्तरिक पक्ष मात्र निर्णायक हुँदैन, बाह्य पक्ष पनि त्यतिकै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय पूँजीवाद अहिले एकीकृत पूँजीवाद वा भूमण्डलीकृत पूँजीवादमा रुपान्तरित भएको छ, जसमा विश्वका सम्पूर्ण पूँजीपति वर्गहरु एकाकार भएका छन् । फलस्वरुप राष्ट्रिय पूँजीपति वर्गको अस्तित्व समाप्त भएको छ । त्यसकारण अब राष्ट्रिय पूँजीपति वर्गसँग संयुक्तमोर्चा बनाएर राष्ट्रिय पूँजीपति वर्गलाई मुक्त गर्ने क्रान्ति हुनसक्दैन, जुन नयाँ जनवादी क्रान्ति हो ।

एकाधिकारी पूँजीवादले पूँजीवावादी क्रान्ति हुन दिंदैनथ्यो, त्यसकारण चीनमा पूँजीवादी क्रान्ति हुनसकेन । अब एकीकृत पूँजीवादले नयाँ जनवादी क्रान्ति हुन दिंदैन, त्यसकारण नेपालमा नयाँ जनवादी क्रान्ति हुनसक्दैन । अब नेपाली क्रान्तिको लक्ष्य समाजवाद नै हुन्छ । किनभने वर्तमान भूमण्डलीकृत पूँजीवादको विकल्प भूमण्डलीकृत समाजवाद मात्र हुनसक्दछ । समाजवाद भन्दा तलको कार्यक्रमले वर्तमान पूँजीवादको मुकाविला गर्न सक्दैन । त्यसैगरी वर्तमान नेपाली समाजको पिछडिएको उत्पादक शक्तिलाई समाजवादी कार्यक्रमद्वारा मात्र विकसित गर्नसकिन्छ । अर्थात् सामूहिक, अन्तर्सम्बन्धित र योजनाबद्ध प्रयत्नबाट मात्र पिछडिएको नेपाली अर्थतन्त्र र समाजको प्रगति हुनसक्दछ ।

२) उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई मान्ने

वर्तमान युगको प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । यसैको आधारमा वर्तमान पूँजीवादले आफूलाई शक्तिशाली बनाएको छ र आफ्नो मृत्युलाई केही पर सार्न सफल भएको छ । त्यसकारण अब विज्ञान–प्रविधिलाई उत्पादक शक्ति नबनाई वर्तमान एकीकृत पूँजीवादलाई पराजित गर्न संभव हुँदैन र समाजवादी व्यवस्था पनि सफल हुँदैन । मानव श्रम–शक्तिमा आधारित समाजवादले न त पूँजीवादलाई उछिन्न सक्छ र न समाजको आवश्यकता नै पूरा गर्नसक्छ । अब विज्ञान–प्रविधिको वर्तमान उपलब्धिबाट समाजवाद संभव देखिएको छ ।

३) संघर्ष वा क्रान्तिको विधि समाजवादको निर्माणलाई बनाउने

यो विषयका तीन अर्थहरु छन्- (१) संघर्षका पुुराना विधिहरु सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचनको स्थानमा समाजवादको निर्माणलाई प्रयोग गर्ने, (२) समाजवादको निर्माण क्रान्तिपूर्व गर्ने र (३) विद्यमान पुरानो व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसभन्दा बाहिर रहेर संघर्ष गर्ने ।

(१) संघर्षको पुराना विधिहरु सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचनको स्थानमा समाजवादको निर्माणलाई प्रयोग गर्ने–
संघर्ष वा क्रन्तिका पुराना विधिहरु– सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचन– अहिले प्रभावकारी हुनसकेका छैनन् । त्यसकारण अब यी विधिहरुलाई निर्णायक क्षेणमा मात्र प्रयोग गर्नुपर्दछ र त्यसभन्दा पहिले पुरानो व्यवस्थाको विरुद्ध नयाँ व्यवस्थाको निर्माण समानान्तर रुपमा गर्नुपर्दछ । फलस्वरुप पुरानो व्यवस्था विस्थापित हुने अवस्था सृजना हुन्छ र क्रान्तिकारी शक्तिहरुलाई सशक्त तथा सुदृढ हुने आधार बन्दछ ।

(२) समाजवादको निर्माण क्रान्तिपूर्व गर्ने–अहिलेसम्म समाजवादको निर्माण कार्य क्रान्ति सम्पन्न भएपछि मात्र गर्ने नीति अवलम्बन गरिएको थियो । तर यसलाई अब क्रान्ति सम्पन्न हुनुभन्दा पहिले नै आरम्भ गर्नुपर्दछ, जसबाट क्रान्तिको लागि सहज अवस्था सृजना हुन्छ । पुरानो व्यवस्थाको समानान्तरमा नयाँ व्यवस्था निर्माण भएपछि पुरानो व्यवस्था कमजोर बन्दै जान्छ र नयाँ व्यवस्था समृद्ध र बालियो बन्दै जान्छ । फलस्वरुप सामाजिक क्रान्तिको माध्यमबाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको प्रतिष्ठापन हुन्छ ।

(३) विद्यमान पुरानो व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसभन्दा बाहिर रहेर संघर्ष गर्ने–पहिले पुरानो व्यवस्थाको विरुद्ध संघर्ष गर्दा त्यसभित्र रहेर गर्ने गरिन्थ्यो । किनभने क्रान्तिकारी शक्ति पुरानो व्यवस्थाभित्र हुन्थ्यो । तर अहिले उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापित भएका छन् । त्यसकारण अब पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न संभव छैन । त्यसभन्दा बाहिर रहेर त्यसलाई प्रहार गर्नुपर्दछ ।
यसरी समानान्तर व्यवस्थाको रुपमा समाजवादको निमार्ण गर्नको लागि ५ तत्वहरुको आवश्यकता पर्दछ ः (१) विचारधारा, (२) संगठन, (३) अर्थतन्त्र, (४) सेना र (५) राजनीतिक सत्ता । यी साधनहरुको निमार्ण गरेर यिनीहरुको आधारमा समाजवादको निर्माण गर्नसकिन्छ ।

४) समाजवादको नयाँ प्रारुप प्रस्तुत गर्ने
नेपाली क्रान्तिको लक्ष्य समाजवाद हो । तर यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ हुनुपर्दछ । यो नयाँ समाजवादका तीन विशेषताहरु हुनेछन् ः (१) विज्ञान–प्रविधिमा आधारित समाजवाद, (२) समाजनियन्त्रित समाजवाद र (३) समाजिक स्वामित्वमा आधारित समाजवाद ।

(१) विज्ञान–प्रविधिमा आधारित समाजवाद–
विगतमा समाजवाद मानव श्रम–शक्तिमा आधारित थियो, किनभने त्यसबेला मानव श्रम–शक्ति नै प्रमुख उत्पादक शक्ति थियो । तर अहिले त्यसको स्थान विज्ञान–प्रविधिले लिएको छ । त्यसकारण अब समाजवाद पनि विज्ञान–प्रविधिमै आधारित हुनु पर्दछ । मानव श्रम–शक्तिमा आधारित समाजवादले विज्ञान–प्रविधिमा आधारित वर्तमान भूमण्डलीकृत पूँजीवादलाई पराजित गर्नसक्दैन ।
(२) समाजनियन्त्रित समाजवाद–
नयाँ समाजवादको अर्को विशेषता समाजनियन्त्रित हुनु हो । विगतको पुरानो समाजवाद राज्यनियन्त्रित थियो र पूँजीवाद पूँजीपति वर्गद्वारा नियन्त्रित हुन्छ । यसको विपरित, नयाँ समाजवाद समाजको नियन्त्रणमा हुनेछ । जसरी प्रकृतिमा इकोसिस्टमको रुपमा प्राकृतिक तत्वहरुको सम्बन्ध तथा अन्तर्निभरताबाट सन्तुलन स्थापित भएको हुन्छ, त्यसैगरी समाजमा पनि सामाजिक समूहहरुको सम्बन्ध तथा अन्तर्निभरताबाट सामाजिक नियन्त्रण र सन्तुलन स्थापित हुन्छ ।
नयाँ समाजवादमा समाजका संघटकको रुपमा संगठित सामाजिक समूहहरुको परस्पर सम्बन्ध र निर्भरताबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ । यसको राजनीतिक व्यवस्था संसदीय व्यवस्था हुँदैन, जुन प्रतिनिधिमूलक व्यवस्था हो । यो प्रत्यक्ष जनसहभागितामूलक व्यवस्था हुन्छ । यसमा प्रतिनिधिमूलक निकाय संयोजक वा समन्वयकर्ता मात्र हुन्छ र प्रत्यक्ष जनसहभागितामूलक निकाय कार्यकारी हुन्छ ।

(३) सामाजिक स्वामित्वमा आधारित समाजवाद–
विगतको समाजवाद राज्यको स्वामित्वमा आधारित थियो र पुँजीवाद निजी स्वामित्वमा आधारित हुन्छ । तर नयाँ समाजवाद समाजको स्वामित्वमा आधारित हुनेछ । समाजको आवश्यकताको आधारमा विभिन्न सामाजिक समूहहरुको निर्माण भएको हुन्छ । उदाहरणको लागि, किसान समूह, मजदूर समूह, व्यापारी समूह, आदि । तिनै सामाजिक समूहहरु वास्तविक स्वामित्वका पात्रहरु हुन् । तिनीहरुलाई सम्बन्धित सम्पदा वा विषयको स्वामित्व प्रदान गरेर सामाजिक स्वामित्व स्थापित गर्न सकिन्छ । उदाहरणको लागि किसान समूहलाई कृषि क्षेत्रको स्वामित्व प्रदान गरेर कृषिमा सामाजिक स्वामित्व स्थापित गर्न सकिन्छ र मजदूर समूहलाई उद्योगको स्वामित्व प्रदान गरेर उद्योगमा सामाजिक स्वामित्व स्थापित गर्नसकिन्छ ।

समाजवादी क्रान्तिद्वारा स्थापित समाजवादबाट निर्माण हुने नयाँ नेपालको तस्बीर हाम्रो अगाडि छ । त्यसलाई हामी मन, वचन र कर्मले स्वागत गरौँ !

 

माथि रमेश सुनुवारद्वारा प्रस्तुत गरिएको राजनीतिक कार्यपत्रमाथि कमरेड आहुतीले गर्नुभएको टिप्पणी  

विज्ञान–प्रविधि पहिले नै थियो
आहुति

मलाई के लाग्नथालेको छ भने संसारमा झिँगा मार्ने भनेर औषधि छर्कने काम भयो र झिँगा त मर्यो तर अण्डाभित्र भएको लार्भाले चाहिँ त्यो औषधि पचाइदिएर आफ्नो वंश लिएर संसारमा आएको छ । मैले भन्न खोजेको के भने कम्युनिष्ट क्रान्तिकारीहरुमाथि धेरै थरीका विष छर्कने काम भएकै छ, हुँदैआएको छ । झिँगाका बाबु–आमाजस्तै माक्र्सवादीहरु त मर्ने नै छन् तर अण्डाभित्रको लार्भाले जस्तै हामी माक्र्सवादीहरुले फेरि विष पचाएर अगाडि आउनु छ । नेपालमा अहिले हामी त्यही चरणमा छौं र त्यो चरणको लागि यो खालको बहस आवश्यक छ । हामीले झिँगाको सन्तानलाई नसम्झी नहुने भएको छ । अब यात्रा यहीबाट सुरु हुन्छ । मैले यो कार्यपत्र पढ्दा म चाहिँ त्यही लार्भा हुँ भनेर पढेको छु । कसरी त्यो विष पचाउने होला भनेर पढें मैले यो कार्यपत्रलाई । कार्यपत्रमाथि बुँदामा कुरा राख्छु ।

पहिलो कुरा, कार्यपत्रको सुरुमै चार जात छत्तिस वर्णको कुरा, आदर्श नारी सीता र भृकुटीलाई मान्ने कुरा र दर्शनशास्त्रीको प्रतीकको रुपमा जनकलाई मान्ने कुरासँग म सहमत छैन । यो विलकुल पञ्चायतले निर्माण गर्या कुरा हो । हामीसँग कपिलजस्ता भौतिकवादी दार्शनिक हुँदाहुँदै त्यो ब्रह्मसभा बनाउने जनक कसरी प्रतीक हुन्छ हाम्रो, म बुझ्दिनँ यो कुरा ! रुख चढेर दाउरा काट्ने तामाङ्ग महिला हुँदाहुँदै, सम्बन्ध विच्छेद गर्ने अधिकार भएको किराँत महिला हुँदाहुँदै सीता र भृकुटीहरु नेपाली प्रतीक कसरी हुन्छन्, म बुझ्दिनँ ! चार जात छत्तिस वर्णलाई त्यसरी स्वीकृति दिन तथ्यले पनि मिल्दैन, अवधारणाले पनि मिल्दैन । त्यसो हुँदा कार्यपत्रको जुन ढंगले सुरुवात गरिएको छ, त्यसमा पुनर्विचार गरियोस् ।

दोस्रो कुरा, नेपालमा मंगोल र आर्य जातिको मात्र कुरा गरिएको छ । यहाँ आग्नेय र द्रबिड परिवारका मान्छे पनि बस्छन् । नेपाल कबिला युगबाट सुरु भयो भनिएको छ । मैले अहिलेसम्मको अध्ययनमा त्यो भेटेको छुइनँ । मुन्धुम लिएर आउनेहरु पनि दर्शनशास्त्रसहित आएका हुन्, वेद लिएर आउनेहरु पनि पूर्ण विश्वदृष्टिकोण लिएर आएका हुन् । मुस्लिमहरु त पछि आएका, झनै लिएर आउने नै भए । द्रबिडहरु पनि आफ्नो सत्ता निर्माण गर्ने योजनासहित नै आएका हुन् । त्यसो हुँदा नेपाली समाजको बारेमा पनि कार्यपत्रले विचार गर्नुपर्छ ।

उत्पादन सम्बन्धको रुपमा विज्ञान–प्रविधिको कुरा गरिएका छ । यो चाहिँ कस्तो लाग्ने रहेछ भने हरेक नव–बिवाहित जोडीलाई बिवाहको केही समय रोमाञ्चमय लाग्ने रहेछ कि यस्तो योभन्दा अगाडिको मान्छेलाई थाहा थिएन । तर त्यस्तो होइन । हजारौं वर्षदेखि यस्तो प्रक्रिया दोहोरिरहेको छ । हरेक युगको मान्छेलाई आफ्नो युगको विज्ञानको विकास अद्भुत लाग्ने रहेछ । सबभन्दा पहिला आगो फेला पार्ने मान्छेलाई अद्भुत क्रान्ति भयो आफ्नो जीवनमा । आगोपछि पनि धेरै कुरा फेला पर्नेछन् भन्ने कुरा थाहा थिएन उसलाई, कुरा त्यत्ति हो ।

माक्र्सवादले उत्पादक शक्ति भनेर तीन कुरालाई भन्या हो । पहिलो औजारलाई, दोस्रो उत्पादनका साधनहरुलाई र तेस्रो मान्छेलाई भन्या हो । र, किटान गरेर माक्र्सवादले अन्य साधनलाई आधारभूत र मान्छेलाई निर्णायक भन्या हो । औजार स्वयं विज्ञान–प्रविधि हो त्यतिवेलाको । अहिलेको विज्ञान–प्रविधि पनि औजारै हो । अहिलेको विज्ञान–प्रविधि चाहिँ माक्र्सवादले भनेकोभन्दा भिन्नै हो भनेर बुझ्नु हुँदैन । एङ्गेल्सको व्याख्याले त्यसो भन्दैन । समाजवाद त्यतिखेर सम्भव हुन्छ, जतिखेर उत्पादनमा प्रचुरता हुन्छ । प्रचुरताको अर्थ मान्छेले निजी बनाएर मेरो पुस्तौनीलाई के होला भनेर सोच्नु पर्दैन । त्यति प्रचुर हुन्छ । त्यसकारण उत्पादनका साधनहरुको विकासबिना अथवा अहिलेको विज्ञान–प्रविधिको विकासबिना त त्यो कुरा सम्भवै छैन । एङ्गेल्सले त्यतिखेरै किटान गरेर भनेको कुरा हो । र, अहिले भएको विज्ञानको विकास माक्र्सवादीहरुको लागि तनावको विषय नै होइन । विल्कुलै खुशीको कुरा हो । आदिम साम्यवाद यस्तो कंगाल अवस्थामा थियो कि खोज्दा–खोज्दै जम्मा गर्नै नपुग्ने, कसरी निजी बनाउने ? वैज्ञानिक साम्यवादमा, जहाँ अब हामी जानु छ, त्यहाँ यति प्रचुरता हुनेवाला छ कि कसैले लुटेर राख्नै नपर्ने । सबै औजार आफ्नो समयको विज्ञान–प्रविधि हो । माक्र्सवादले राम्रोसँग संश्लेषण गरेको छ । यही त माक्र्सवादको सुन्दर कुरा थियो ।
अहिलेको विज्ञान–प्रविधिलाई नयाँ कुरा भनेर जुन रुपमा प्रस्तुत गर्न खोजिएको छ, त्यो चाहिँ माक्र्सवादको आधारभूत कुरातर्फ ध्यान नपुगेको हो कि ? यति भनिसकेपछि मैले भन्नेपर्छ कि औजार निर्णायक हुनैसक्दैन, किनकि औजार चेतनशील हुँदैन । औजारले विचार बोक्दैन । माक्र्सवादले त्यतिकैे मान्छे निर्णायक भन्या होइन । मान्छे पनि पदार्थकै रुप त हो तर मान्छे मनसहितको जटील रुप हो । औजार निर्णायक हुने भए मान्छेको समाजै हुँदैनथ्यो । यो कुरा गहिरो गरी लिनुपर्दछ ।

कार्यपत्रमा राष्ट्रिय पूँजीपति वर्गको अन्त्य भयो भनिएको छ । पूँजीपति वर्ग दलालसँग गाँसिदै गएको कुरा सत्य हो, तर राष्ट्रिय पूँजीपति वर्गको अन्त्य भयो भन्ने विषयमा छलफल गरौं । बहुराष्ट्रिय र पराराष्ट्रिय कम्पनीसँगको शेयरमा बदलिसक्यो भन्ने छ, तर मैले शेयर नभएका पूँजीपति पनि देख्या छु । नेपालमा त्यो ठूलै जमात छ ।

अर्को, समाजवादका सबै मोडेलहरु असफल भयो भनेर १९१७ देखि १९९१ सम्मलाई एउटै डालोमा हाल्ने काम गरिएको छ, जुन कुरा गलत छ । सन् १९१७ पछि लेनिनले अगाडि सारेको विषय सोभियत हो । यो कार्यपत्रले समाजवादमा जनताको नियन्त्रण हुनुपर्छ भनेको छ । त्यो कुरा लेनिनको सोभियतमा छ । सोभियत चाहिँ कार्यकारी हुने, श्रमजीवीको सोभियत हुने, त्यसबाट प्रतिनिधि चुनिएर आउने र त्यसैले नियन्त्रण पनि गर्ने भन्ने थियो । सोभियत एकपटक अध्ययन गर्न अनुरोध गर्छु । पछि त्यहाँ युद्ध–समाजवाद आयो । दोस्रो विश्वयुद्धको लफडा भयो । स्तालिनको विचारमा परिवर्तन आएर वर्गहरु समाप्त भयो भनियो । आफंैभित्र दमनको प्रक्रिया सुरु हुनथाल्यो । विस्तारै कार्यकारी सोभियत होइन, कठपुतली सोभियत हुनपुग्यो र त्यो सत्ताधारीको हातमा पुगेर राजकीय समाजवादको विकास हुनथाल्यो । स्तालिनको युगसँगै सोभियत पूँजी राजकीय पूँजीमा विकास भयो । ख्रुश्चेभको पालामा त उदार पूँजीवादमा गइसकेको थियो । लेनिनदेखि ख्रुश्चेभसम्मलाई एउटै डालोमा हालेर हेरियो भने त रुपलालतिर पुगिन्छ । रुपलालजी क्रान्ति नै भएको रहेनछ, भएको भए त उल्टिनै नपर्ने भन्नुहुन्थ्यो । त्यस्तै यो कार्यपत्रले पनि सबैलाई एउटै डालोमा हाल्ने गल्ती गरेको छ ।

यो कार्यपत्रमा अर्को गल्ती बहुदलीय जनवादी कार्यक्रम र नौलो जनवादी कार्यक्रमलाई पनि एउटै डालोमा हालिएको छ । यस्तो त होइन । बहुदलीय जनवाद स्वतः नौलो जनवाद होइन । एमालेले त्यो लाइन २०३५ मै छोडेको हो । बहुदलीय व्यवस्था भनेको संसदीय व्यवस्था नै हो भन्ने कुरा एमालेको अभ्यासले पुष्टि गर्छ । त्यसलाई पनि जनवादकै अभ्यास थियो भन्ने र एमालेको असफलतालाई लगेर सबै क्रान्तिकारी कम्युनिष्टहरुको असफलता थियो भनेर भन्न मिल्दैन । हुँदा–हुँदा चीनमा पनि जनवादी क्रान्ति असफल भएको भन्नुभा छ, यो के भा हो ? प्रिन्ट मिस्टेक भाको पनि हुनसक्छ !

सवभन्दा बहस गर्नुपर्ने अर्को विषय नेपाली समाज अर्ध–सामन्ती हो कि होइन भन्ने छ । मैले भन्ने विषय यति मात्रै छ कि सामन्तवाद भनेको राज्य व्यवस्था होइन, त्यो त समाज व्यवस्था हो । त्यस्तो व्यवस्थामा मूलतः राज्य व्यवस्था पनि सामन्ती नै हुन्छ । समाज व्यवस्थाको मुख्य जरो उत्पादन सम्बन्ध हो, हामीलाई माक्र्सवादले सिकाएको यो हो । माक्र्सवादले उत्पादन सम्बन्धको विषयमा तीन कुरा भन्छ ः पहिलो, उत्पादनका साधनहरुमाथिको स्वमित्व कस्तो छ, दोस्रो, त्यो स्वामित्वबाट हुने उत्पादनको वितरण कस्तो छ र तेस्रो, स्वामित्व र वितरणको कारणले मानिसहरुको आपसी सम्बन्ध कस्तो छ । नेपालको उत्पादन सम्बन्ध सामन्तवादी छ भन्ने कुरा त तथ्यले भन्नुपर्यो नि त । नेपालमा अब मोही किसानहरुको संख्या तीन लाखजति छ, जहाँ कि किसान परिवारको संख्या पचपन्न लाखभन्दा बढी छैन । अनि हामी भनिरहेका छौं नेपाली उत्पादन सम्बन्ध सामन्तवादी छ । बाली प्रथामा काम गर्ने दलितहरु अब १० प्रतिशतभन्दा बढी छैन । जुन देशमा बाली प्रणालीमा काम गर्नेको संख्या १० प्रतिशतभन्दा बढी छैन, अनि त्यो सामन्तवादी कसरी हुन्छ ? समाज व्यवस्था कस्तो छ भनेर हेर्ने भनेको त्यहाँको उत्पादन प्रणाली कस्तो छ भनेर हेर्ने हो । निर्बाहमुखी अर्थतन्त्र हुनेबित्तिकै त्यो सामन्तवादी हुन्छ भनियो भने बर्बाद हुन्छ । निर्बाहमुखी अर्थतन्त्र त पूँजीवादमा पनि हुन्छ, सामन्तवादमा पनि हुन्छ । सामन्तवाद भनेको सामन्तहरुले जमिनमा भएको उत्पादन सम्बन्धमार्फत किसानहरुलाई शोषण गर्ने भनेको हो । अब नेपालमा व्यक्ति सामन्त छैन । नेपालमा सामन्ती सम्बन्ध अब एउटा गुठी जग्गामा रहेको मोही किसानमा छ । अर्को, पुस्तौनी रुपमा रहेको जग्गा धनी र मोही किसानहरुको बीचमा छ । १० बिघा जग्गा भएकोले पाँचलाख कमाउँदैन, एउटा मावि शिक्षकले पाँच लाख कमाउँछ । को सामन्त ? पहाडकाहरुले मधेसमा सामन्त छ भन्छन्, त्यो तिउन खानेहरुको सोच हो । तरकारी पर्याप्त नभएको ठाउँमा सबैकुरा मिसाएर तिउन पकाइन्छ । अनि तिनीहरु तराई झरेपछि आँखाले नभ्याउने जमिन देख्दा सबै सामन्त लाग्छ । यस्तो कुराले हुँदैन ।

अर्को कुरा, हाम्रो देश नव–उपनिवेशी छ भन्छौं । यहाँ कार्यपत्रमा सत्तामा जाँदा ताला–चावी अर्कैको हातमा छ भन्छन् भन्ने छ । त्यसको अर्थ सामन्तको हातमा छ भनेको होइन, दलाल पूँजीपतिको हातमा भनेको हो । नेपालमा दलाल पूँजीवाद छ, नव–उपनिवेशी शोषण छ, त्यो कुरा सत्य हो तर ती सबै पूँजीवाद नै हुन् । त्यसकारणले गर्दा आधारभूत रुपमा नेपाली समाज पूँजीवाद नै हो । रहल–पहल बाँकी छ, त्यसमा छलफल गरौंला । यो बहस हल नभई कार्यक्रम चाहिँ समाजवादी बनाउने कि नबनाउने भन्ने हुँदैन । शास्त्रीय माक्र्सवादले त हुँदैन भन्छ । क्लासिकल माक्र्सवादअनुसार अर्ध–सामन्ती अवस्थाबाट समाजवादमा जानुहुँदैन, जनवादमा जनुपर्छ भन्ने कुरा गलत छ भनेर नभत्काई समाजवादी कार्यक्रममा जाने भन्न मिल्दैन । अर्ध–सामन्ती देश त पूँजीवादमा जान्छ, कसरी समाजवादमा जान्छ ? यहाँ मिलेको छैन । र, हाम्रो देश अर्ध–सामन्ती होइन, पूँजीवाद नै हो, हामै प्रकारको पूँजीवाद हो । नेपालमा विकसित भएको पूँजीवादको थप अध्ययन हुन जरुरी छ ।

उहाँले अर्काे नयाँ कुरा के भन्नुभएको छ भने समाजवाद यो व्यवस्थाबाहिर बनाउने । त्यसको लागि सेना चाहिन्छ, संगठन चाहिन्छ, छुट्टै अर्थतन्त्र चाहिन्छ भन्नुभएको छ । यो पूँजीवादी व्यवस्था भन्दा बाहिर रहेर त्यो गर्ने कसरी ? समाज व्यवस्था त यही हो । विशुद्ध समाजवाद, यो राज्य व्यवस्थाभित्र घुसपैठ नगरीकन, यसका विरुद्ध संघर्ष नगरीकन, त्यसको खण्डन नगरीकन कसरी बनाउने ? यही नेपालभित्र बसेर समाजवादी क्रान्ति गर्न सेना बनाउने भन्नुभएको छ, प्रतिक्रियावादीले दमन गरेपछि के गर्नुहुन्छ ? अर्थतन्त्र छुट्टै के बनाउने ? तपाईंलाई छुट्टै बैङ्क खोल्न दिन्छ त ऐनले ? दिँदैन । अनि यही ऐनभित्र रहेर पुनर्गठित गर्नुको अर्को विकल्प के छ त तपाईंसँग ? तसर्थ यो विचार पुरानो व्यवस्थामा छिर्दा बिग्रने रहेछ भनेर त्यहाँ नछिरीकन जाने हो भन्नेजस्तो लाग्छ । नछिरीकन समाजवाद बनाए पनि बनाउने त मान्त्रीमण्डलै हो नि फेरि ! खाने मुख त तिनै हुन् । त्यसो हुँदा म चाहिँ कसरी बुझ्छु भने यही व्यवस्थाभित्र जाँदा पनि नबिग्रने साँस्कृतिक रुपान्तरणसहितको मानव बनाउने यात्रा हो । र, अहिले हामीले हारेको भनेको नौ महिनाको बच्चा हिँड्न खोज्दा लडेजस्तै हो । पाँचहजार वर्षदेखि चल्दै आएको परम्परालाई भत्काउन हामीले एकसय पचहत्तर वर्षदेखि सुरु गरेका छौं भने अहिले नै सकिएन भनेर रुने–कराउने गर्न आवश्यक छैन । माक्र्सवादको फ्रेमभित्र रहेर अपुग कुरा थप्ने कि त्यसको आधारभूत कुराभन्दा बाहिरबाट माक्र्सवादमा नयाँ कुरा थप्नथाल्ने, बहस यहाँ छ ।

यो कार्यपत्रले व्यापारीहरु पनि हुन्छन् समाजवादमा भनेको छ । व्यापारी भएपछि त लुट हुन्छ, तब त्यहाँ कसरी समाजवाद हुन्छ ? के कुरा गरेको यो ? अहिले हामी वर्गसंघर्षलाई छाडेर समाजवादको कुरा गर्नसक्दैनौं । वर्गको चरित्रमा फेरबदल आएको छ, आउनैपर्छ त्यो । वर्गको चरित्रमा परिवर्तन भएन भने विकासै हुँदैन । दास दासै रहेर समाजवादको विकास हुँदैन । श्रमजीवी वर्गमै बुद्धिजीवी जन्मिन्छन् । श्रमजीवी वर्गबाट महानतम योद्धाहरु जन्मिन्छन् । श्रमजीवी हुनेबित्तिकै बुद्धिजीवी नजन्मिने, ढुंगा ठोकेर मात्र खानुपर्ने, त्यस्तो पनि हुन्छ ? त्यस्तो त माक्र्सवादले भन्ने होइन । वर्गसंघर्षलाई छोडेर अहिले हामी माक्र्सवादको कुरा गर्नसक्दैनौँ । माक्र्सवादको आधारभूत कुरा वर्गसंघर्षको मान्यतालाई छाडेर जाने हो भने हामी माक्र्सवादबाट अलग्गिन पुग्छौँ । वर्गहरुको सोचमा परिवर्तन हुनैपर्छ, भएन भने समाज विकास हुँदैन । त्यसकारण अहिले स्वरुप परिवर्तन भएको छ, थुप्रै परिवर्तन भएको छ । हो, अतिरिक्त मूल्यको सिद्धान्तको बारेमा हामीले अतिरिक्त सोच्नु आवश्यक भएको छ । माक्र्सको बेलामा अहिलेजस्तो थिएन भने अहिले माक्र्सवादी ढंगले सोच्नुपर्छ । त्यसकारणले बहस कहाँ केन्द्रित गर्नुप¥यो भने माक्र्सवादको आधारभूत सत्य, त्यो भनेको वर्गसंघर्षको फेनोमेना, सिद्धान्त, त्यसपछि द्वन्द्वात्मक भौतिकवादी ढंगले सोच्ने कि नसोच्ने, समाजविज्ञानलाई ऐतिहासितक भौतिकवादी ढंगले सोच्ने कि नसोच्ने, बल प्रयोगको सिद्धान्तलाई निर्णायक सिद्धान्तको रुपमा अंगीकार गर्ने कि नगर्ने, श्रमिक वर्ग वा सर्वहारा वर्गको अधिनायकत्व वा शासन मान्ने कि नमान्ने । त्यसकारण माक्र्सवादका आधारभूत सत्यमा टेकेर आजको समाज व्यवस्थामा माक्र्सवादले कहाँ–कहाँ पूरा गरेन भनेर बहस गर्ने एउटा तरीका, माक्र्सवादको आधारभूत सत्यले नै फेल खायो भन्ने अर्को तरीका । यो कार्यपत्र त्यसको दोधारमा देख्छु म । मेरो सुझाव के छ भने माक्र्सवाद अध्ययन–अनुसन्धान प्रष्ठिानले आपूmलाई नेपाली समाजको आधारभूत अध्ययनमा केन्द्रित गर्नुप¥यो र त्यसपछि माक्र्सवादको आधारभूत सत्यको अध्ययनमा केन्द्रित गर्नुप¥यो । त्यसपछि यस खालका बहसहरुमा प्रवेश गर्दा सहज होला भन्ने मलाई लाग्छ ।

 

आहुतीको टिप्पणीको जवाफसहितकाे

नेपाली क्रान्तिको कार्यक्रमको व्याख्या
–रमेश सुनुवार

माक्र्सवादको सृजनात्मक विकासको लागि स्थापित माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठानले आरम्भ गरेको ‘नेपालमा समाजवाद’ सम्बन्धी बहसको पहिलो शृंखला सम्पन्न भएको छ । त्यसमा ‘नेपाली क्रान्तिको कार्यक्रम’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रको संक्षिप्तताको कारण र केही अन्य कारणहरुले गर्दा धेरै प्रश्नहरु उठेका छन् । तिनीहरुमध्ये केही महत्वपूर्ण प्रश्नहरुको स्पष्टीकरणको लागि यो आलेख तयार गरिएको छ ।

छलफलको क्रममा एकजना टिप्पणीकर्ता विद्वान मित्रले किटनाशक विषादी पचाउने किराको उदाहरण दिँदै माक्र्सवादी किरा बनेर माक्र्सवादको विरुद्ध छरिएको किटनाशक विषादी पचाइदिने भीष्मप्रतिज्ञा गर्नुभएको छ । त्यसको लागि वहाँलाई मेरो हार्दिक बधाइ तथा शुभकामना ! तर म विनम्रतापूर्वक वहाँलाई यो जानकारी पनि गराउन चाहन्छु कि जुन किराले किटनाशक विषादी पचायो, त्यसको पनि आन्तरिक संरचनामा परिवर्तन भएको छ । त्यसको जीवनशक्ति, रसायन, हर्मोन, अंगप्रत्यंग, आदिमा केही परिवर्तन र विकास भएपछि मात्र त्यसले विषादी पचाउन सकेको हो । नत्र पहिले किन पचाएन त ? अहिलेसम्म त्यसले के पर्खेर बसेको थियो ? अब यसरी विषादी पचाउन सक्नेगरी परिवर्तन भएको किरा पहिलेकै किरा त हुँदै होइन । त्यसले विषादी पनि पचाएको छ र सँगसँगै आफू पनि पचेको छ । त्यसैगरी, यदि वातावरण नै बदलिएको छ भने, त्यो बदलिएको वातावरणलाई कुनै परिवर्तनबिना पचाउन सकिँदैन । उदाहरणको लागि, सेतो रंगको किरा कालो रंंगको वातावरणमा गयो भने, त्यसले आफूलाई कालो रंगको बनाउनुपर्दछ । नत्र त्यो बाँच्न सक्दैन । कालो रंगको किरा सेतो रंगको वातावरणमा गयो भने, त्यसले आपूmलाई सेतो रंगको बनाउनु पर्दछ । नत्र त्यो बाँच्न सक्दैन । यदि कसैले वातावरणलाई नै पचाइदिन्छु भन्छ भने, त्यसको नियति डाइनोसरको जस्तो हुनेछ, जुुन पृथ्वीमा आएका प्राणीहरुमध्ये सवभन्दा ठूलो भएर पनि लोप भयो । त्यसकारण विद्वान मित्रले माक्र्सवादमा कुनै विकास नगरी माक्र्सवादको सामु आएका चुनौतीहरुलाई त्यतिकै पचाइदिन्छु भनेर सोच्नुभएको छ भने, त्यो गलत हुनेछ ।

त्यसैगरी, यदि वहाँले सबै चुनौतीहरुलाई विषादी नै ठान्नुभएको छ भने, त्यो पनि गलत हुनेछ । सबै चुनौतीहरु विषादी हुँदैनन् । उदाहरणको लागि, पूँजीवादलाई सामन्तवादबाट आउने चुनौती विषादीजस्तै हुन्छ र समाजवादबाट आउने चुनौती थप विकासको लागि उत्पे्ररक हुन्छ । मकैको दानालाई आगोमा डढाउँदा पनि नष्ट हुन्छ र जमिनमा रोप्दा पनि नष्ट हुन्छ । आगोमा डढाउनु विषादी छर्कनुजस्तै हो र त्यसलाई जमिनमा रोप्नु त्यसलाई à