fbpx

काठमाडौं । अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँग ६९ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा अलआउट हुँदै २१५ रनमै सीमित भयो।

लक्ष्य पछ्याउने क्रममा एक सय १८ बलको सामना गरेका अर्जुन कुमालले १४ चौकाको मद्दतमा सर्वाधिक एक सय दुई रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेनन्। नरेन भट्ट र रुपेश सिंहले १५ तथा देव खनालले ११ रन बनाउँदा सहाब अलाम ६, क्याप्टेन विनोद भण्डारी चार, विकास आग्री तीन रनमा आउट भए। रञ्जित कुमार एक रन बनाएर नटआउट रहे भने भीम सार्की र रिजन ढकाल शून्य रनमै पेभेलियन फर्किए।

नेपाललाई रोक्ने क्रममा आयरल्यान्डका बेन ह्वाइट एक्लैले पाँच तथा गेभिन होइले चार विकेट दिलाए। म्याथ्यु फोस्टरले एक विकेट लिए। टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ले यसअघि निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो।