
पनौती, काभ्रे । काभ्रे जिल्लाको पनौतीस्थित काभ्रे इङ्लिस माध्यमिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। चलचित्र सम्बन्धी ज्ञान, चेतना र जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा ३८० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्ड र संचार रजिष्ट्रारको कार्यालय, हेटौंडाको सहकार्य रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई चलचित्रको इतिहास, निर्माण प्रक्रिया, सामाजिक प्रभाव तथा सिने साक्षरताको महत्वबारे जानकारी दिइएको थियो। विभिन्न दृश्य–श्रव्य सामग्रीमार्फत शिक्षण शैलीलाई आकर्षक र प्रभावकारी बनाइएको थियो।
कार्यक्रम संयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता, आलोचनात्मक सोच र सञ्चार कौशल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए। आयोजक संस्थाले आगामी दिनमा देशका अन्य विद्यालयहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।