fbpx

मेरो माटो, मेरो विरुवा, मेरो वन जङ्गल, मेरो नदीनाला, मेरो देश। कतै गुम्ला कि भन्ने पीरले मरिहत्ते गरेर श्रम गर्ने गर्छु । जे मैले देखेको छु, त्यो मलाई मात्रै थाहा छ । जे मैले भोगेको छु, त्यो मलाई मात्रै थाहा छ । मलाई सिध्याउन खोज्नेहरुको ठुलै भीड छ तर म एक्लै भए पनि संघर्ष गरिरहनेछु । किनकि यो देश मलाई चाहिएको छ । म यो देश बनाउन र बचाउन आएको हुँ । जति सक्छु बनाउँछु र बचाउँछु । मेरो ओठमा मेरो देश हाँस्ने गर्छ र कहिले मेरो आँखा हुँदै मेरो देश रुने गर्छ । यही माटोमा मेरो अधिकार छ । यही माटोमा मेरो सफलता र समृद्धि छ । यही माटो नै मेरो स्वाभिमान र गौरव हो । म बाँचू त यो देशको लागि । मरूँ त यही देशको लागि ।

म मेरै पाखुरामा विश्वास गर्ने मान्छे । मलाई कसैको आशामा बाँच्नु छैन । यही मेरो दृढ संकल्पलाई घमण्ड भनेर आलोचना र गालि गर्नेहरुलाई के थाहा मैले लिएको यो अडान देश बनाउने संकल्प हो जुन देशमा उनीहरु र उनीहरुका सन्तानहरुको भविष्य रहेको छ भन्ने । म कमाउन आएको होइन, म बनाउन आएको हुँ । बचाउन आएको मान्छे मलाई कसले के भन्छ भन्नेले खासै फरक पार्दैन । म एकोहोरो लागिरहन्छु जसरी नदी निरन्तर बगिरहन्छ, जसरी हावा निरन्तर बहिरहन्छ, प्राकृतिक रुपमा र प्राकृतिक स्वरुपमा । प्रकृतिले यति धेरै सम्पदा हामीलाई दियो तर हामी संधै भरि आर्थिक अभावमा बाँचिरहेका छौँ ।

अभावले विभेद र द्वन्द निम्त्याउँछ । अशान्ति निम्त्याउँछ । गौतम बुद्ध जन्मेको यो देशमा काटमारको अवस्था नरहोस् भन्ना खातिर श्रम गरौँ र उत्पादन बढाऔँ भन्नु मेरो गल्ति होइन । अभावलाई बचाइराखेर सृजित समस्यालाई एजेण्डा बनाएर राजनीति गरिने यो देशमा मलाई देखिनसहनेहरुकै ठुलो संख्या छ । वैचारिक हिसाबले म एक्लो छु । केही श्रमदाताहरुको अस्थायी समर्थन लिएरै भए पनि मैले ठुलो संदेश दिन खोजेको छु ।

म सबै कुरा जान्दिन तर देश र जनतालाई धोका दिनु महापाप हो र धोका दिनु हुन्न भन्ने राम्ररी बुझेको छु । सबैलाई म जस्तै बन्नु भन्दिन तर इमानदारीका साथ सत्कर्म गर्न पछि नहट्न आग्रह गर्दछु । समय आउँछ र जान्छ तर समयमै केही काम गर्न सके समय फल्छ पनि । अन्यथा समय बितेर गएको पत्तो पाइन्न । तँ ठुलो कि म ठुलो भन्दै बस्ने मानिस वास्तवमा धुलो हो । त्यही धुलोको थुप्रो शरीर लिएर यता उता घुमिरहनुलाई जीवन भन्न मिल्दैन । ठोस कर्म गरौँ । सबैको हीत हुने कर्म गरौँ । देश भन्ने बित्तिकै एउटा निश्चित स्वायत्त राजनीतिक क्षेत्र भित्र रहेको सबै थोक सबै जना भन्ने बुझाउँछ । त्यसैले मैले देश बनाउन र बचाउन चाहंदा सबै थोक त सबैजनालाई बनाउन र बचाउन चाहेको भन्ने बुझिनु पर्दछ यो देश बने सबै बन्न सकिन्छ यो देश बिग्रे सबै बिग्रने हो १ त्यसैले मेरो गीतले भन्छ, देश सोच्न सकूँ म देश बोल्न सकूँ । देशकै कर्म गर्न सकूँ म देशकै लागि मर्न सकूँ । जय देश ।

हर्क साङ्पाङको फेसबुक वालबाट