fbpx

प्रस्तावना
मानव समाज अनादि कालदेखि थिएन । किनभने स्वयं मावन इतिहासको कालखण्डमा उत्पन्न भएको थियो । त्यसकारण मानव समाज पनि विगतकालमा उत्पन्न भएको हो । तर यो परिवर्तन र विकासको क्रममा छ । विगतमा यो वर्तमान कालको जस्तो थिएन । आफ्नो उत्पत्ति कालदेखि धेरै परिवर्तनको श्रृंखला पार गरेर यो आजको अवस्थामा आइपुगेको छ ।

समाजमा परिवर्तन र विकास स्वतः हुँदैन । अथवा समाज स्वयं परिवर्तनशील र विकासशील छैन । त्यसको लागि एउटा निश्चित शक्ति अथवा तत्वले काम गर्दछ । विगतमा यो कार्य मानव श्रमले गरेको थियो । मानव श्रमले स्वयं मानवलाई पशुबाट मानव बनाएको थियो । मानव श्रमले इतिहासमा कति महान काम गरेको थियो भन्ने कुरा विश्का सात आश्चर्यहरुलाई हेर्दा थाहा हुन्छ । इजिप्टको पिरामिड, बेबिलोनको झुलन बगैंचा, चीनको विशाल पर्खाल, इटलीको झुकेको धरहरा, आदि सबै मानव श्रमकै उपज थिए ।

त्यसकारण विगतमा समाजवादको लागि सामुहिक मानव श्रमलाई अथवा सामाजिक श्रमलाई प्रमुख शक्ति मानिएको थियो । किनभने व्यक्तिगत मानव श्रममा भन्दा सामूहिक मानव श्रममा अथवा सामाजिक श्रममा बढी क्षमता हुन्छ । त्यसकारण काल्पनिक समाजवादीहरुले पूँजीवादको विकल्पमा समाजावादको कल्पना गरेका थिए, जुन पूँजीवादभन्दा उत्कृष्ट व्यवस्था हो । यस्तो उत्कृष्ट व्यवस्था सामूहिक श्रम–शक्तिको आधारमा स्थापित हुनसक्दछ भन्ने विस्वास गरिएको थियो । तर अहिले यो सामूहिक मानव श्रम–शक्तिभन्दा पनि धेरै शक्तिशाली तत्वको रुपमा विज्ञान–प्रविधि आएको छ ।

अहिले विज्ञान–प्रविधि समाज रुपान्तरणको प्रमुख शक्ति बनेको छ । यसको क्षमता कति छ, एउटा उदाहरण हेरौं । प्रचीन कालमा ग्रीसमा आर्किमेडिज नामका एकजना वैज्ञानिक थिए । उनले उत्तोलकको आविष्कार गरेका थिए । त्यो उत्तोलकको क्षमतालाई देखेर उनी आश्चर्यचकित भएका थिए रे । त्यसपछि उनले सगर्व भनेका थिए रे– ‘‘मलाई एउटा उत्तोलक दिनुहोस्, म यो पृथ्वीलाई हल्लाइदिन्छु ।’’ अहिले उत्तोलक एउटा साधरण चीज हो । उत्तोलकभन्दा धेरै उतकृष्ट साधनहरु हामीसँग छन् । आर्कीमिडिजले वाष्प इन्जीनलाई देखेका भए के भन्दा हुन् ? हिरोसिमा र नागासाकी जस्ता विशाल शहरहरुलाई ध्वस्त बनाउने परमाणुशक्तिलाई देखेका भए के भन्दा हुन् ? तीन लाख किलोमिटर प्रतिसेकेण्ड हिड्ने प्रकाशको गतिलाई देखेका भए के भन्दा हुन ?

दशैंमा गोरखाबाट फूलपाती काठमाडौं ल्याउँदा एकजना मानिसले एकदिनमा फूलपाती ल्याउन संभव हुँदैन, त्यसकारण चार–पाँचजना लगाएर फूलपाती ल्याइन्छ । चार–पाँचजना मानिसका लागि पनि गोरखाबाट फूलपाती ल्याउन एकदिन लाग्दछ । तर यदि त्यो फूलपाती भ्यानमा राखेर ल्याउने हो भने एक–दुई घण्टामा ल्याउन सकिन्छ । यसबाट व्यक्तिगत श्रमभन्दा सामाजिक श्रम बढी क्षमतावान छ भन्ने कुरा सिद्ध हुन्छ ।

नेपाल प्राचीन कालदेखि अस्तित्वमा रहेको देश हो । तर यसको विकास अत्यन्त मन्द÷सुस्त छ । प्राचीन काल, मध्यकाल र आधुनिक काल पार गरिसकेपछि पनि यो अल्प विकसित देशको दर्जामा रहेको छ । नेपालमा राजनैतिक आन्दोलनहरु धेरै भएका छन् । तीनवटा ठूला क्रान्तिहरु पनि सम्पन्न भइसकेका छन्, जसमध्यै पहिलो २००७ सालमा, दोस्रो २०४६ सालमा र तेस्रो २०६२–६३ सालमा भएको थियो । तर तिनीहरुबाट समाजमा कुनै तात्विक परिवर्तन आएको छैन ।

यसबाट के निष्कर्ष निस्किन्छ भने नेपालको विकासको लागि राजनैतिक आन्दोलन तथा परिवर्तन मात्र पर्याप्त छैन । यसको लागि विज्ञान–प्रविधिको प्रयोग गर्नु आवश्यक छ । किनभने नेपालमा अहिलेसम्म विज्ञान–प्रविधिको योजनाबद्ध तथा सचेत प्रयोग भएको छैन । परिणामस्वरुप कुनैपनि राजनैतिक आन्दोलनहरु सफल भएका छैनन् ।

त्यसकारण नेपाली समाजको आमूल परिवर्तनका लागि अब वैचारिक जागरण, राजनैतिक आन्दोलन र विज्ञान–प्रविधिको प्रयोगलाई संयोजन गर्नु आवश्यक छ ।
वास्तवमा समुन्नत नेपाल, अथवा समृद्ध नेपाल निर्माण गर्ने विधिलाई संक्षपमा यसरी सूत्रबद्ध गर्न सकिन्छ– प्रकृतिक साधन+विज्ञान–प्रविधि + समाजवाद = समुन्नत नेपाल ।

१.प्राकृतिक साधन
प्राकृतिक सम्पदाको दृष्टिकोणबाट नेपाल अति सम्पन्न देश हो । प्रयोजनको आधारमा यहाँका प्राकृतिक साधनहरुलाई मुख्यतया चार प्रकारहरुमा विभाजन गर्न सकिन्छ ।
१. कृषि कृषिसँग सम्बसन्धित प्राकृतिक साधन–जमिन, जंगल र जल
२.जलविद्युतः जलविद्युतसँग सम्बन्धित प्राकृतिक साधन–नदी–नालाहरु
३. जडीबुटी यद्योगः यससँग सम्बन्धित प्राकृतिक साधनहरु–जंगल, जडीबुटीहरु ।
४. पर्यटन व्यवसायः पर्यटन व्यवसायसँग सम्बन्धित प्राकृतिक साधनहरु–हिमाल, तीर्थस्थल, झरना र तालहरु ।

१) कृषिसँग सम्बन्धित प्राकृतिक साधन
नेपाल भौगोलिक विविधता भएको देश हो । यसलाई तीन भागमा विभाजन गर्न सकिन्छः हिमाल, पहाड र तराई । त्यसकारण यहाँ उष्ण, शीतोष्ण र शीत तीनै प्रकारका हवापानी पाइन्छन् । फलस्वरुप नेपालमा सबै प्रकारका कृर्षि उत्पादनहरु हुन सक्दछन् । मुख्यतया तराईमा अनाज, पहाडमा फलफूल तथा तरकारी र हिमालमा नगदेबालीको प्रचुर संभावना छ ।

२) जलविद्युतसँग सम्बन्धित प्राकृतिक साधन
नेपालमा अटुट रुपले बग्ने सात ठूला नदिहरु छन्–सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णली । यी नदिहरु हिमालबाट शुरु भएर पहाड हुँदै तराईमा पुग्दछन् । त्यसकारण नेपालका नदि–नालाहरुमा पानीको प्रवाह अत्यन्त उच्च हुन्छ, जसबाट ठूलो मात्रामा विद्युत उत्पादन हुन सक्दछन् । त्यसैगरी नेपाल पहाडी मुलुक भएको हुँदा यहाँ वर्षायामको पानी संकलन गरेर पनि विद्युत उत्पादन गर्न सकिन्छ ।

३) जडीबुटी उद्योगसँग सम्बन्धित प्राकृतिक साधन
नेपाल जैविक विविधताले भरिपूर्ण देश हो । त्यसकारण यहाँ विभिन्न प्रकारका वनस्पतिहरु पर्दछन् । विशेषगरी हिमाली भागमा यस्ता बहुमूल्य वनस्पतिहरु प्रचुर मात्रामा रहेका छन् । त्यसैकारण नेपालको हिमाली भागलाई जडीबुटीको भण्डार भन्ने गरिएको छ । फलस्वरुप यहाँ जडीबुटी यद्योगको ठूलो संभावना छ ।

४) पर्यटन व्यवासायसँग सम्बन्धित प्राकृतिक साधन
भौगोलिक दृष्टिकोणबाट नेपाल अत्यन्त सुन्दर देश हो । त्यसकारण यसलाई ‘एसियाको स्विजरल्याण्ड’ भन्ने गरिन्छ । विश्वमा नेपाल दुई कारणले प्रसिद्ध छ– सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी । यिनीहरुबाहेक नेपालमा धेरै तालहरु, झरनाहरु र तीर्थस्थलहरु । त्यसकारण नेपालमा पर्यटन व्यवसायकोे राम्रो संभावना छ ।

२ं) विज्ञान–प्रविधि
वर्तमान युगको प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । विज्ञान–प्रविधिकै माध्यमबाट विश्वमा आमूल परिवर्तन भएको छ । यो तथ्यलाई प्रसिद्ध बेलायती वैज्ञानिक स्टीफेन हकिङ्गले यसरी व्यक्त गरेका छन्– ‘‘यो विश्व विगत १०० वर्षमा जति धेरै बदलिएको छ, त्यति पहिले कहिल्यै बदलिएको थिएन । यसको कारण अरु केही होइन, विज्ञान तथा प्रविधिको विकास नै हो ।’’

विज्ञान–प्रविधिको क्षमता आजसम्मका यसका उपलब्धिहरुलाई हेर्दा स्पष्ट हुन्छ । विज्ञान–प्रविधिको विकास निर्णायक चरणमा पुगेको धेरै समय धएको छैन तर यसको प्रभाव भने अत्यन्त क्रान्तिकारी हुनगएको छ । विज्ञान–प्रविधिको आरम्भ प्राचीनकालदेखि नै भएको भएको भए पनि त्यस बेला यो मानव श्रमको साहायक मात्र थियो । मध्यकालमा अझ धर्मको दास बन्नपुग्यो । आधुनिक कालको शुरुवातपछि मात्र यसले क्रमशः आफ्नो स्वतन्त्र अस्तित्व प्राप्त ग¥यो । पुनर्जागरण कालदेखि हालसम्ममा यसले निर्णायक स्थान लिइसकेको छ ।

सैद्धान्तिक पक्षमा त विज्ञानले सम्पूर्ण ब्रह्माण्डलाई एकताको सूत्रमा आबद्ध गरिसकेको छ । उदाहरणको लागि , भौतिक विज्ञानले सम्पूर्ण शक्तिका रुपहरुलाई सम्बन्धित र परस्परमा रुपान्तरणीय एवं शक्ति र पदार्थलाई पनि सम्बन्धित र परस्परमा रुपान्तरणीय सिद्ध गरिसकेको छ । यस्तै रसायन विज्ञानले ९२ वटा प्राकृतिक तत्वहरुलाई परस्परमा रुपान्तरणीय, नयाँ तत्वहरुको निर्माण तथा अजैविक र जैविक पदार्थहरुको सम्बन्ध प्रदर्शित गरेको छ । र, जीव विज्ञानले जैविक पदार्थबाट सम्पूर्ण वनस्पतिहरु तथा प्राणीहरु र चेतनासम्मको विकासलाई सिद्ध गरेको छ । व्यवहारिक पक्षमा विज्ञान त्यति अगाडि नपुगेको भएपनि यसले उत्पादन–प्रक्रियामा आमूल परिवर्तन ल्याइसकेको छ र मानव समाजका गाँस, बास र कपासको समस्या समाधान गर्ने साधनदेखि लिएर मस्तिष्कको काम गर्ने साधनसम्म छन् । लिभर, धिर्नीजस्ता साधारण यन्त्रदेखि रोबोटसम्मको यान्त्रिक श्रंखलाद्वारा साधारण कार्यदेखि लिएर जटिल कार्यसम्म सहजै सम्पादन गर्न सकिने अवस्था सिर्जना भइसकेको छ । कम्प्युटर, साइबरनेटिक्स र स्वचालनजस्ता अतिउच्च प्रविधिहरु मानव मस्तिष्कलाई समेत विस्थापन गर्न सक्षम भइसकेका छन् । विद्युत शक्ति, आणविक शक्ति तथा कम्प्युटर प्रविधि वर्तमान कालका महानतम् उपलब्धि हुन् । विद्युतीय माध्यमबाट सञ्चार क्षेत्रको क्रान्ति, डिजेल वा पेट्रोल इन्जीनबाट यातायात क्षेत्रको क्रान्ति र आणविक भट्टीबाट ऊर्जाक्षेत्रको क्रान्ति तथा जीन प्रविधिबाट कृषि क्षेत्रको क्रन्ति वर्तमान युगका अवर्णनीय घटनाहरु हुन् । कृर्षि क्रान्तद्वारा खाद्यान्नको लागि प्रकृतिमाथिको निर्भरता अन्त्य भएको छ । कृत्रिम रेसाको उत्पादनबाट कपडाको समस्या पूर्णतया समाधान भएको छ । कृत्रिम रबर, कृत्रिम पेट्रोल, कृत्रिम सामग्री, इत्यादिको उत्पादनबाट प्रकृतिको सीमा समाप्त भएको छ । अब खाद्यान्न उत्पादन पनि कारखानामै गर्न सकिने संभावना भैसकेको छ । यसप्रकार विज्ञान–प्रविधिले मानवको हरेक समस्यालाई समाधान गर्ने मार्ग प्रशस्त गरेको छ ।

३.समाजवाद

नेपाली समाज अहिले अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्थामा छ । त्यसकारण यहाँ दलाल पूँजीपति वर्ग प्रभुत्वशाली अथवा यहाँ दलाल पूँजीपति वर्गको अधिपत्य छ । त्यसैगरी यहाँ प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विदेशी हस्तक्षेप पनि विद्यमान छ । दलाल पूँजीपति वर्गलाई परास्त गर्न र विदेशी हस्तक्षेपको अन्त्य गर्नको लागि नेपालमा आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता छ । तर यहाँ आत्मनिर्भर अर्थतन्त्र समाजवादबाट मात्र संभव छ ।

नेपाली समाज अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्थामा रहेको हुँदा एक–दुई प्रयत्नबाट, अलग–अलग प्रयत्नबाट तथा प्रतिस्पर्धी प्रक्रियाबाट आत्मनिर्भर अर्थतन्त्रको निार्माण हुनसक्दैन । त्यसका लागि योजनाबद्ध, अन्तर्सम्बन्धित, सामूहिक तथा सहयोगात्मक प्रयत्न र प्रक्रियाको आवश्यकता पर्दछ । यसबाट मात्र नेपालमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुनसक्दछ । त्यसकारण समाजवादी कार्यक्रमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण र आत्मनिर्भर अर्थतन्त्रबाट दलाल पूँजीपति वर्गको उन्मूलन तथा भूमण्डलीकृत पूँजीवादको हस्तक्षेप समाप्त हुनसक्दछ । तब नेपालको समृद्धि सुनिश्चित हुन्छ ।

साइन्स सोसाइटी (SCIENCE SOCIETY)

परिचयः
साइन्स सोसाइटी वर्तमान युगको विज्ञान–प्रविधिको क्षेत्रमा आवश्यक सम्पूर्ण काम गर्ने संस्था हो । यो जनस्तरबाट स्थापित र जनस्तरमै काम गर्ने संस्था हो । यसले सेवामूलक तथा नाफामूलक दुबै कार्य गर्नेछ ।

उद्देश्यः
यो संस्थाको उद्देश्य नेपालमा विज्ञान–प्रविधिको विकास गर्नु र विज्ञान–प्रविधिको प्रयोग गरेर नेपाली समाजको रुपान्तरया तथा समृद्धि हासिल गर्नु हो । वर्तमान युगमा विज्ञान–प्रविधि नै समाजको प्रमुख आधार भएको हुँदा यसको माध्यमबाट पिछडिएको नेपाली समाजलाई प्रगतिको मार्गमा अगाडि बढाउने लक्ष्य लिएर यो संस्थाको स्थापना भएको छ ।

कार्यहरुः
यो संस्थाका कार्यहरु दुई प्रकारका छन्– १. सैद्धान्तिक कार्य र २. व्यावहारिक कार्य ।

१. सैद्धान्तिक कार्य
नेपाली समाजमा वैज्ञानिक तथा प्राविधिक ज्ञान फैल्याउन र विज्ञान–प्रविधिको उपयोगका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न संचालन गरिने कार्यहरु यसअन्तर्गत पर्दछन् । यसमा अध्ययन–अनुसन्धान तथा शैक्षिक कार्यहरु संचालन गरिन्छ ।

२. व्यावहारिक कार्य
विज्ञान–प्रविधिलाई समाजमा उपयोग गर्नको लागि संचालित हुने कार्यहरु यसअन्तर्गत पर्दछन् ।

कार्यक्रमः
आफ्नो उद्देश्य पूरा गर्नको लागि यो संस्थाले निम्नानुसार कार्यक्रम निर्धारण गरेको छ ।

१. सर्वप्रथम यसले चार निकायहरुको निर्माण गर्नेछ–

              १) पुस्तकालय (Library)

              २) संग्रहालय (Museum)

              ३) प्रयोगशाला (Laboratory)

              ४) बेधशाला (Observatory)
२. यसले देशको समग्र वस्तुस्थितिको अध्ययन गरी सम्पूर्ण विवरण तयार गर्नेछ ।
३. विज्ञान–प्रविधिको वर्तमात्र अवस्थाको अध्ययन गरेर सम्पूर्ण विवरण तयार गर्नेछ ।
४. त्यसपछि यी विवरणहरुको आधारमा उपयुक्त कार्यहरुको छनौट गरी कार्यान्वयन गर्नेछ ।